शमूएलले शाऊललाई भने, “मेरो शान्तिलाई तिमीले किन भङ्ग गरेर मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म ठूलो सङ्कष्टमा परेको छु। पलिश्तीहरूले मलाई पेलिरहेका छन्, र परमेश्वरले मलाई त्याग्नुभएको छ। उहाँले न त अगमवक्ताद्वारा न दर्शनद्वारा मलाई जवाफ दिनुहुन्छ। के गर्नुपर्ने सो मलाई बताइदिनुहोस् भनी मैले तपाईंलाई बोलाएको हुँ।” शमूएलले भने, “परमप्रभुले तिमीलाई त्याग्नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ? मद्वारा पहिले नै भन्नुभएको कुरा परमप्रभुले गर्नुभएको छ। उहाँले तिम्रो हातबाट राज्य खोसेर अर्को तिम्रो एउटा छिमेकी दाऊदलाई दिनुभएको छ। तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो। त्यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ।” शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए। तब त्यो स्त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्यसले उनलाई भनी, “तपाईंले भन्नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्ति खतरामा हालें। अब मेरो कुरा सुन्नुहोस्। तपाईंका यात्राको निम्ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।” तर शाऊलले खान इन्कार गरे। जब उनका सेवकहरूले पनि त्यस स्त्रीले भनेको कुरामा जोड़ गरे तब उनी सहमत भए, र भूइँबाट उठेर पलङ्गमा बसे। त्यस स्त्रीको घरमा पालेको बाछा थियो। त्यसले त्यो झट्टै काटेर बनाई। त्यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई। ती त्यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्यो खानेकुरो खाए, र त्यही रात उनीहरू बिदा भए।
१ शमूएल 28 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 28:15-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू