१ शमूएल 25:23-33

१ शमूएल 25:23-33 NNRV

जब अबीगेलले दाऊदलाई देखिन्‌ तब तिनी हतार-हतार आफ्‍नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्‍ने घोप्‍टो परी भूइँसम्‍मै निहुरेर तिनको खुट्टामा दण्‍डवत्‌ गरी भनिन्, “हे मेरा प्रभु, दोष मैमाथि नै परोस्‌। हजूरको विनम्र दासीलाई बोल्‍ने अनुमति दिनुहोस्‌। मेरा प्रभुले मेरा कुरा सुन्‍नुहोस्‌। हजूरले त्‍यस दुष्‍ट मानिसको ख्‍याल नगर्नुहोस्‌। जस्‍तो त्‍यसको नाउँ नाबाल छ, त्‍यो त्‍यस्‍तै छ। त्‍यसको नाउँ ‘मूर्ख’ हो, र त्‍यसको बेहोरा पनि मूर्खको जस्‍तो छ। हजूरले पठाउनुभएका मानिसहरूलाई मैले देखिनँ, हजूर। “अब रक्तपात गर्नु र बदला लिनुबाट हजूरलाई परमप्रभुले रोक्‍नुभएको छ। जीवित परमप्रभुको नाउँमा र हजूरका जीवनको शपथ खाएर म भन्‍दछु, हजूरका शत्रुहरू र हजूरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्‍तो होस्‌। म हजूरकी विनम्र दासीले ल्‍याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्‍यो दिनुहोस्‌। हे मेरा मालिक, धृष्‍टता गरेकोमा हजूरकी दासीलाई क्षमा गर्नुहोला। परमप्रभुले हजूरको वंशलाई सदासर्वदै स्‍थिर गर्नुहुनेछ, किनभने हजूरले परमेश्‍वरकै युद्धहरू गर्नुहुन्‍छ। हजूरको जीवनकालभरि हजूरमा कुनै किसिमको खराबी नपाइओस्‌। यदि कुनै मानिसले हजूरलाई खेद्‌न र हजूरको प्राण लिन खोज्‍यो भने परमप्रभु हजूरका परमेश्‍वरले हजूरको प्राणलाई सुरक्षित राखेर जीवितहरूमध्‍ये राख्‍नुहुनेछ। तर हजूरका शत्रुहरूका प्राणलाई चाहिँ उहाँले घुयेँत्रोमा राखेर हानेको ढुङ्गाजस्‍तै फ्‍याँक्‍नुहुनेछ। जब परमप्रभुले हजूरलाई दिनुभएका सबै प्रतिज्ञा पूरा गरीकन इस्राएलका शासक बनाउनुहुनेछ, तब हजूरले निर्दोष रगत बगाउनुभएको र आफ्‍नो बदला लिनुभएको कारण हजूरको निम्‍ति पछितो लाग्‍ने अथवा गह्रौँ बोझ हुने केही कारण हुनेछैन। त्‍यस बेला जब परमप्रभुले हजूरको उन्‍नति गर्नुहुनेछ, तब म, हजूरकी दासीलाई पनि सम्‍झनुहोला।” तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्‍यको हो, तिमी धन्‍यकी हौ, किनभने आज तिमीले मलाई हत्‍या र प्रतिशोधको दोषदेखि जोगायौ।