पलिश्तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्नका खला लुटिरहेका थिए। जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, “म गएर ती पलिश्तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?”
अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्।”
तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन् कीलाहमा पलिश्ती फौजहरूका विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ?”
दाऊदले फेरि एक पल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्दाहरूलाई मुक्त गरे। (अहीमेलेकका छोरा अबियाथार कीलाहमा दाऊदकहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए।)
दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।” अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे।
तिनको विरुद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्याउन अह्राए। तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, शाऊल कीलाहमा आएर मेरो कारण त्यस सहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईंको दासले सुनेको छ। के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।”
परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, त्यो आउनेछ।”
फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पिदिनेछन्?”
परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”
यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्।
दाऊद उजाड़-स्थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्दथे। तर परमेश्वरले दाऊदलाई उनको हातमा सुम्पिदिनुभएन।
जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए। तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।” ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्यसपछि जोनाथनचाहिँ आफ्नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।