१ शमूएल 17:31-40

१ शमूएल 17:31-40 NNRV

दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्‍यो, र त्‍यो कुरा शाऊलकहाँ पुर्‍याइयो, अनि उनले तिनलाई बोलाए। दाऊदले शाऊललाई भने, “त्‍यस पलिश्‍तीको कारण कोही पनि हताश नहोऊन्‌। म गएर त्‍यस पलिश्‍तीसँग लड्‌नेछु।” शाऊलले जवाफ दिए, “तिमी गएर त्‍यस पलिश्‍तीसँग लड्‌न सक्‍नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्‍योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।” तर दाऊदले शाऊललाई भने, “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाह गर्दैआएको छु। जब सिंह अथवा भालूले आएर बगालबाट भेड़ा बोकेर लैजान्‍थ्‍यो, तब म त्‍यसको पछि गई त्‍यसलाई आक्रमण गरेर त्‍यसको मुखबाट त्‍यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्‍यो फर्क्‍यो भने म त्‍यसको रौँ समातेर कुटी-कुटी त्‍यसलाई मार्थें। मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्‍तीको दशा तिनीहरूकोभन्‍दा असल हुनेछैन, किनकि त्‍यसले जीवित परमेश्‍वरको सेनालाई विरोध गरेको छ। सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्‍यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्‌।” तब शाऊलले दाऊदलाई आफ्‍नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। त्‍यसपछि दाऊदले आफ्‍नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्‍दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले। त्‍यसपछि तिनले आफ्‍नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गा छाने, र ती आफ्‍नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्‍नो घुयेँत्रो लिएर त्‍यस पलिश्‍तीसँग लड्‌नलाई गए।