१ शमूएल 17:19-37

१ शमूएल 17:19-37 NNRV

तिनीहरू शाऊल र इस्राएलका सबै मानिसहरूसित एलाहको बेँसीमा पलिश्‍तीहरूका विरुद्धमा युद्ध गर्दैछन्‌।” भोलिपल्‍ट बिहानै दाऊदले भेड़ाहरू कसैको हेरचाहमा छोड़ेर यिशैले अह्राएअनुसार आफ्‍नो काममा हिँड़े। सेना युद्ध-ध्‍वनि लगाउँदै आ-आफ्‍नो स्‍थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे। इस्राएलीहरू र पलिश्‍तीहरूले एक-अर्काको सामुन्‍ने पङ्‌क्ति बाँधिरहेका थिए। सामान राख्‍नेको जिम्‍मामा आफ्‍नो सामान दिएर पङ्‌क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे। जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए, तब गातको त्‍यो पलिश्‍ती वीर गोल्‍यत आफ्‍नो फौजदेखि बाहिर निस्‍केर अघिझैँ हाँक दिन लाग्‍यो। अनि त्‍यसले भनेको कुरा दाऊदले सुने। जब इस्राएलीहरूले त्‍यस मानिसलाई देखे, तब तिनीहरू ठूलो डरले भागे। तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्‍छे आएर इस्राएललाई धम्‍की दिन्छ। त्‍यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्‍नी छोरी पनि त्‍यससँग विवाह गरिदिनुहुनेछ अनि त्‍यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।” दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्‍तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्‍ने त्‍यो खतना नभएको पलिश्‍तीचाहिँ को हो र?” त्‍यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्‍याएर बताए। मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्‌? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्‍मा दिएर आइस्‌? म तँलाई चिन्‍दछु, घमण्‍डी र दुष्‍ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्‌!” दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्‍नु पनि नहुने?” उनीबाट एकातिर लागेर तिनी मानिसहरूकहाँ गए, र त्‍यही प्रश्‍न दोहोर्‍याए, र सबैले तिनलाई त्‍यही जवाफ दिए। दाऊदले भनेको कुरा अरूहरूका कानमा पुग्‍यो, र त्‍यो कुरा शाऊलकहाँ पुर्‍याइयो, अनि उनले तिनलाई बोलाए। दाऊदले शाऊललाई भने, “त्‍यस पलिश्‍तीको कारण कोही पनि हताश नहोऊन्‌। म गएर त्‍यस पलिश्‍तीसँग लड्‌नेछु।” शाऊलले जवाफ दिए, “तिमी गएर त्‍यस पलिश्‍तीसँग लड्‌न सक्‍नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्‍योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।” तर दाऊदले शाऊललाई भने, “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाह गर्दैआएको छु। जब सिंह अथवा भालूले आएर बगालबाट भेड़ा बोकेर लैजान्‍थ्‍यो, तब म त्‍यसको पछि गई त्‍यसलाई आक्रमण गरेर त्‍यसको मुखबाट त्‍यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्‍यो फर्क्‍यो भने म त्‍यसको रौँ समातेर कुटी-कुटी त्‍यसलाई मार्थें। मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्‍तीको दशा तिनीहरूकोभन्‍दा असल हुनेछैन, किनकि त्‍यसले जीवित परमेश्‍वरको सेनालाई विरोध गरेको छ। सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्‍यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्‌।”