१ शमूएल 17:1-19

१ शमूएल 17:1-19 NNRV

पलिश्‍तीहरूले युद्धको निम्‍ति आफ्‍नो फौज जम्‍मा गरे, र यहूदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस-दम्‍मीममा छाउनी हाले। शाऊल र इस्राएलीहरू पनि भेला भएर एलाहको बेँसीमा छाउनी हाले। तिनीहरूले पलिश्‍तीहरूका सामु पङ्‌क्ति बाँधे। पलिश्‍तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो। पलिश्‍तीहरूको छाउनीबाट गातको गोल्‍यत नाउँको एक जना वीर निस्‍केर आयो। त्‍यो तीन मिटरभन्‍दा अल्‍गो थियो। त्‍यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्‍यसले लगाएको थियो। त्‍यसका खुट्टामा काँसाका झिलम थिए, र त्‍यसका हतियारहरूमध्‍ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्‍यसले बोक्‍यो। त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो। गोल्‍यत खड़ा भयो र इस्राएलको फौजलाई भन्‍यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्‍ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्‌नलाई तिमीहरूको मानिस चुन। यदि एकलै लड़ेर त्‍यसले मलाई मार्न सक्‍यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि मैले त्‍यसलाई जितेर मारें भने तिमीहरूले हाम्रा कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। तब त्‍यस पलिश्‍तीले भन्‍यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्‍छ गन्‍छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।” जब शाऊल र इस्राएलीहरूले त्‍यस पलिश्‍तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्‍न भए। अब दाऊद यिशै भन्‍ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए। तिनका जेठा, माहिला र साहिँला छोराहरूचाहिँ युद्धमा शाऊलको पछि लागेका थिए। जेठा एलीआब, माहिला अबीनादाब र साहिँला शम्‍मा थिए। दाऊदचाहिँ कान्‍छा थिए। ती पहिला तीन युवकहरू शाऊलको पछि लागेका थिए, तर त्‍यस बेला दाऊद शाऊलको छाउनी र बेथलेहेममा आफ्‍ना पिताका भेड़ाको हेरचाह गर्नलाई आउने-जाने गर्थे। त्‍यो पलिश्‍ती बिहान र बेलुकी चालीस दिनसम्‍म अगि आएर आफ्‍नो नियत स्‍थानमा खड़ा हुन्‍थ्‍यो। एक दिन यिशैले आफ्‍ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ। यी दश वटा पनीरचाहिँ तिमीले सहस्रपतिको निम्‍ति लैजाऊ। तिम्रा दाजुहरू कुशलै छन्‌ कि छैनन्‌ हेर, र तिनीहरूबाट केही आश्‍वासन लिएर आऊ। तिनीहरू शाऊल र इस्राएलका सबै मानिसहरूसित एलाहको बेँसीमा पलिश्‍तीहरूका विरुद्धमा युद्ध गर्दैछन्‌।”