१ पत्रुस 2:4-9

१ पत्रुस 2:4-9 NNRV

उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ। तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ। किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।” यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो। तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।