१ पत्रुस 1:2-16

१ पत्रुस 1:2-16 NNRV

येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌। परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं। स्‍वर्गमा तिमीहरूका निम्‍ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌। आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्‍ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ। आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ। तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको मुक्ति पाउँछौ। तिमीहरूका निम्‍ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्‍ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्‍वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्‍सुक छन्‌। यसकारण आफ्‍नो मन बाँध, संयमी होओ र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”