१ पत्रुस 1:1-7

१ पत्रुस 1:1-7 NNRV

येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियाभरि निर्वासित भई छरपष्‍ट भएकाहरूलाई, येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌। परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं। स्‍वर्गमा तिमीहरूका निम्‍ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌। आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्‍ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ। आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌।