१ राजाहरू 8:22-43

१ राजाहरू 8:22-43 NNRV

तब जम्‍मै इस्राएलका समुदायको सामुन्‍ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्‍ना हात स्‍वर्गतिर उचाले, र भने: “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, माथि स्‍वर्गमा र तल पृथ्‍वीमा तपाईंजस्‍तै अरू कुनै ईश्‍वर छैन— तपाईं, जसले आफ्‍नो प्रेमको करार आफ्‍ना ती दासहरूसँग बाँध्‍नुहुन्‍छ, जो तपाईंको मार्गमा सम्‍पूर्ण हृदयले निरन्‍तर लागिरहन्‍छन्‌। तपाईंले आफ्‍ना दास मेरा पिता दाऊदसँग गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ। “यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास दाऊद मेरा पितासँग गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, यदि तँ हिँड़ेझैँ तेरा छोराहरू आफ्‍ना चालहरूमा होशियारीसित मेरो सामुन्‍ने हिँड़े भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिले पनि मानिसको अभाव हुनेछैन। अनि अब हे इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍ना दास मेरा पिता दाऊदलाई भन्‍नुभएको वचन पूरा होस्‌। “तर के परमेश्‍वर निश्‍चय नै पृथ्‍वीमा वास गर्नुहुन्‍छ र? स्‍वर्गहरू, स्‍वर्गभन्‍दा पनि उच्‍च स्‍वर्गमा तपाईं अटाउनुहुन्‍न भने, मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कसरी अटाउनुहुन्‍छ! तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र दयाको निम्‍ति उसको पुकारमा ध्‍यान दिनुहोस्‌। आजको दिन तपाईंकै उपस्‍थितिमा तपाईंको दासले गरेको पुकारा र प्रार्थना सुन्‍नुहोस्‌। तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘मेरो नाउँ त्‍यहाँ रहनेछ,’ ताकि तपाईंको दासले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्‍नुहोस्‌। आफ्‍नो दास र आफ्‍नो प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्‍नुहोस्‌। आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र जब तपाईंले सुन्‍नुहुन्‍छ, तब क्षमा गर्नुहोस्‌। “यदि कुनै मानिसले आफ्‍नो छिमेकीको खराबी गरेर शपथ खान लगाइयो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खायो भने, तब तपाईंले स्‍वर्गबाट सुनेर कार्य गर्नुहोस्‌। दोषीलाई दोषी ठहराउँदै र त्‍यसका कामहरूको प्रतिफल त्‍यसकै शिरमा ल्‍याउँदै आफ्‍ना दासहरूका बीचमा न्‍याय गर्नुहोस्‌। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्‍यसको निर्दोषतालाई स्‍थिर गराउनुहोस्‌। “जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेर तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित भएका छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्‍दिरमा प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन्, तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काई ल्‍याउनुहोस्‌। “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्‍द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्‍वीकार गरी आफ्‍ना पाप त्‍यागेर त्‍यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्, तब स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना दासहरू, आफ्‍ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्‌। तिनीहरू हिँड्‌नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्‍ना प्रजालाई तिनीहरूको उत्तराधिकारीको निम्‍ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्‌।” “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्‍पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्‍छ, कि सलहहरू र फटेङ्‌ग्राहरू आउँछन्, अथवा शत्रुहरूले तिनीहरूको कुनै सहरमा घेरा हाल्‍छन्‌— जुन आपत्‌ वा महामारी आए पनि— अनि जब तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्‌ र हरेकले आफ्‍नो हृदयको दु:ख सम्‍झेर आफ्‍नो हात यस मन्‍दिरतिर उचाल्‍छ, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्‌। क्षमा गर्नुहोस्‌ र काम गर्नुहोस्‌। तपाईंले हरेक मानिसको हृदय जान्‍नुभएको हुनाले त्‍यसलाई त्‍यसका कामअनुसारको प्रतिफल दिनुहोस्‌ (किनकि तपाईंले मात्र सबै मानिसहरूको हृदयलाई जान्‍नुहुन्‍छ।), ताकि तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून्‌। “तपाईंका प्रजा इस्राएलभन्‍दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढ़ा देशबाट आएको छ भने— किनभने मानिसहरूले तपाईंको महान्‌ नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेको पाखुराको विषयमा सुन्‍नेछन्‌— जब त्‍यो आएर यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ, तब तपाईंको वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र त्‍यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्‍वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्‌ र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंको नाउँ राखिएको छ भनी जानून्‌।