१ राजाहरू 15:1-24

१ राजाहरू 15:1-24 NNRV

नबातका छोरा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए, र तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबीशालोमकी छोरी थिइन्‌। तिनले पनि तिनीअघिका तिनका पिताले गरेका सबै पाप गरे। तिनको हृदय आफ्‍ना पिता-पुर्खा दाऊदको हृदयझैँ परमप्रभु आफ्‍ना परमेश्‍वरप्रति सम्‍पूर्ण रूपले भक्त भएन। तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो। किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्‍टिमा जे कुरा ठीक थियो त्‍यही गरेका थिए, र आफ्‍नो जीवन पर्यन्‍त उहाँको कुनै पनि आज्ञा उल्‍लङ्घन गरेका थिएनन्‌। अबियाको जीवनकालभरि नै रहबाम र यारोबामका बीचमा युद्ध भइरह्यो। अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो। अनि अबिया आफ्‍ना पित्रहरूसित सुते, र तिनी दाऊदको सहरमा गाड़िए। अनि तिनका छोरा आसा तिनीपछि राजा भए। इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए, र तिनले यरूशलेममा एकचालीस वर्ष राज्‍य गरे। तिनकी हजूरआमा अबीशालोमकी छोरी माका थिइन्‌। आसाले आफ्‍ना पुर्खा दाऊदले गरेझैँ जे कुरा परमप्रभुको दृष्‍टिमा असल थियो त्‍यही गरे। तिनले देवता-थानमा बस्‍ने पुरुष वेश्‍याहरूलाई देशबाट निकालिदिए, र तिनले आफ्‍ना पिता-पुर्खाहरूले बनाएका सबै मूर्तिहरूलाई हटाइदिए। तिनले आफ्‍नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्‍दो मूर्ति बनाएकी थिइन्‌। आसाले त्‍यो काटेर ढालिदिए, र किद्रोन खोल्‍सामा त्‍यो जलाइदिए। तिनले डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आसाको हृदय आफ्‍नो सारा जीवनभरि नै परमप्रभुमा सम्‍पूर्ण रूपले सुम्‍पेका थिए। तिनले परमप्रभुको मन्‍दिरमा आफू र आफ्‍ना पिताले समर्पण गरेका सुन र चाँदी र सामानहरू ल्‍याए। तिनीहरूका राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो। इस्राएलका राजा बाशाले यहूदाको विरुद्धमा गएर आक्रमण गरे, र कसैलाई यहूदाका राजा आसाको इलाकाबाट छोड्‌न र भित्र पस्‍न नदिनलाई रामामा किल्‍ला बनाए। तब आसाले परमप्रभुको मन्‍दिर र आफ्‍नै राजमहलका भण्‍डारहरूमा छोड़िएका सबै सुन र चाँदी लिए। तिनले आफ्‍ना अधिकारीहरूका हातमा सुम्‍पेर तब्रिमोनका छोरा, हेज्‍योनका नाति अरामका राजा बेन-हददकहाँ पठाए, जसले दमस्‍कसमा राज्‍य गर्दथे। “मेरा पिता र तपाईंका पिताका बीचमा सन्‍धि भएझैँ म र तपाईंका बीचमा सन्‍धि होस्‌। हेर्नुहोस्, म सुन र चाँदीको यो कोसेली पठाउँदैछु। अब इस्राएलका राजा बाशासितका तपाईंको सन्‍धि तोड्‌नुहोस्, र तिनी मबाट फर्केर जाऊन्‌।” आसासित बेन-हदद सहमत भए, र उनले आफ्‍ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्‍तालीसमेत सबै किन्‍नरेत विजय गरे। जब बाशाले यो कुरा सुने, तब तिनले रामालाई निर्माण गर्न छोड़िदिए, र तिर्सामा फर्केर गए। तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्‍यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्‍यामीनको गेबा र मिस्‍पालाई पनि निर्माण गरे। आसाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्‍धिहरू, र तिनले गरेका सबै कार्यहरू र निर्माण गरेका सहरहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? तापनि तिनको वृद्धावस्‍थामा बिरामीले गर्दा तिनका खुट्टा कूँजा भए। तब आसा आफ्‍ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसँग तिनी गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोशापात राजा भए।