जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्। तिनी एक साह्रै ठूलो लावालश्करसाथ यरूशलेममा आइन्— मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्। सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन। जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्। तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। तर आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले पत्याएकी थिइनँ। साँच्चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्पत्ति मैले सुनेको कुराभन्दा त धेरै ज्यादा रहेछन्। तपाईंका मानिसहरू कति खुशी होलान्! तपाईंको सामुन्ने निरन्तर उभिने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्! तपाईंसित प्रसन्न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। इस्राएलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभएको छ।” त्यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्यै ल्याइएन। हीरामका जहाजहरूले ओपीरबाट सुन ल्याउँथे। त्यहाँबाट तिनीहरूले चन्दनको काठ र बहुमूल्य पत्थरहरू जहाजमा पनि ल्याउँथे। राजाले यी चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र तिनका राजमहलको निम्ति अड़्याउने खम्बाहरू बनाए, अनि गाउनेहरूका निम्ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्दनको काठ कहिल्यै पैठारी गरिएका थिएनन्, र त्यस बेलादेखि यसो देखिएको पनि छैन। सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए। त्यसपछि तिनी लावालश्करसाथ आफ्नो देशमा फर्किन्।
१ राजाहरू 10 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 10:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू