१ यूहन्‍ना 2:22-29

१ यूहन्‍ना 2:22-29 NNRV

झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो। साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌। उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।