१ यूहन्‍ना 1:1-7

१ यूहन्‍ना 1:1-7 NNRV

जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं, त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्‍द पूर्ण होस्‌। जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं। तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।