जुन अवस्थामा मानिसलाई बोलावट भएको छ, त्यसैमा नै हरेक मानिस रहिरहोस्। तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्यसको वास्ता नगर, तर स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ। किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्यो प्रभुको स्वतन्त्र मानिस भएको छ। त्यसै गरी बोलावट भएको समयमा जो मानिस स्वतन्त्र थियो, त्यो ख्रीष्टको कमारो भएको छ। तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन। यसकारण भाइ हो, जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।
अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्वासयोग्य व्यक्तिको हैसियतले म तिमीहरूलाई आफ्नो सल्लाह दिन्छु। वर्तमान सङ्कष्टलाई हेर्दा, जुन व्यक्ति जस्तो अवस्थामा छ त्यसैमा नै रहे असल होला भन्ने म ठान्छु। के तिमीले विवाह गरेका छौ? त्यसो भए आफ्नी पत्नीबाट छुट्न नखोज। के तिमी अविवाहित छौ? त्यसो भए विवाह गर्न नखोज। तर तिमीले विवाह गर्यौ भने पनि त्यो पाप होइन। कन्याकेटीले विवाह गर्दैमा त्यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्छु।
भाइ हो, मेरो भन्ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर रहून्। शोक गर्नेहरू शोक नगरेकाहरूजस्ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्ता भएर रहून्। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्तै रहून्। र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्नो केही चासो नभएजस्तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ। यस्तो मानिसको मन दुईपट्टि लागेको हुन्छ। विवाह नभएकी स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे। यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ। तर जुन मानिसले आफ्नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्तो मानिसले पनि ठीकै गर्दछ। यसरी जसले कन्यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
पति बाँचुञ्जेल पतिकै बन्धनमा पत्नी रहन्छे। तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ। तर त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छे, यो मेरो विचार हो, अनि म सम्झन्छु कि ममा पनि परमेश्वरका आत्मा हुनुहुन्छ।