१ कोरिन्थी 6:1-11

१ कोरिन्थी 6:1-11 NNRV

तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ? सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ? के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र? यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌? तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र? तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने! तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु? तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई! अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌। तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।