१ कोरिन्थी 4:1-12

१ कोरिन्थी 4:1-12 NNRV

यसरी मानिसले हामीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरका रहस्‍यहरूका भण्‍डारे ठान्‍नुपर्दछ। त्‍यसबाहेक यो आवश्‍यक छ, कि भण्‍डारेहरू विश्‍वासयोग्‍य ठहरिनुपर्छ। तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्‍साफ हुनु, यो त मेरो निम्‍ति अति सानो कुरो हो, म आफै पनि आफ्‍नो इन्‍साफ गर्दिनँ। मेरो आफ्‍नै विरुद्धमा केही छ भन्‍ने मलाई थाहा छैन, तर त्‍यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्‍याय गर्ने त प्रभु नै हुनुहुन्‍छ। यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ। भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल। किनभने अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ? तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं! किनभने मलाई यस्तो लाग्दछ परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्‍नुभएकोछ। किनकि संसार, स्‍वर्गदूतहरू र मानिसहरूका निम्‍ति हामी तमाशा भएका छौं।‍ हामी ख्रीष्‍टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्‍टमा बुद्धिमान्‌ छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर। यस घड़ीसम्‍म हामी भोका र प्‍यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं। आफ्‍नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्‍छौं। सताइँदा हामी सहन्‍छौं।