भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें। मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ, अनि अझ पनि छैनौ। तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिसजस्ता भएनौ र? किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र? अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ। मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो। यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ। मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
१ कोरिन्थी 3 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 3:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू