१ कोरिन्थी 15:20-28

१ कोरिन्थी 15:20-28 NNRV

वास्‍तवमा ख्रीष्‍ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्‍येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्‍छ। किनकि जसरी मानिसबाट मृत्‍यु आयो, त्‍यसरी नै मृतकहरूको पुनरुत्‍थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌। तर हरेक आ-आफ्‍नै क्रमअनुसार— ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू। तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ। किनकि उहाँले आफ्‍ना सारा शत्रुलाई आफ्‍ना पाउमुनि नपारुञ्‍जेल उहाँले राज्‍य गर्नैपर्छ। सबैभन्‍दा पछि नष्‍ट पारिने शत्रु मृत्‍यु हो। “किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ।” तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्‍याइन्‍छन्, तब स्‍वयम्‌ पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्‍नुहुन्‍छ, ताकि परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।