मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन। किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन। ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं। वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ। किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू। तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ। किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो। “किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ।” तर यो स्पष्ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफै त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्।
१ कोरिन्थी 15 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:12-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू