१ कोरिन्थी 10:1-14

१ कोरिन्थी 10:1-14 NNRV

भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्‍छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए। अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए। सबैले एउटै आत्‍मिक भोजन खाए। सबैले आत्‍मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‌ने आत्‍मिक चट्टानको पानी तिनीहरूले पिए र त्‍यो चट्टानचाहिँ ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो। तापनि तिनीहरूमध्‍ये धेरैजसोसँग परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्‍ट भए। उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌। तिनीहरूमध्‍ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्‍तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्‍नलाई उठे।” हामी व्‍यभिचारमा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए। हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र सर्पहरूद्वारा नष्‍ट भएका थिए। हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र विनाशकबाट नष्‍ट भएका थिए। यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्‍ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्‍त्‍य आइसकेको छ। यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्‍यो होशियार रहोस्, नत्रता त्‍यो लड्‌नेछ। मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ। यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।