१ इतिहास 12:23-38

१ इतिहास 12:23-38 NNRV

परमप्रभुले भन्‍नुभएबमोजिम शाऊलको राज्‍याधिकार दाऊदलाई दिन हेब्रोनमा हतियारले सुसज्‍जित भएर दाऊदसँग मिल्‍न आएका दलहरूका संख्‍या यही हुन्‌: यहूदाका— ढाल बोकेर भाला चलाउने ६,८०० लड़ाकू मानिसहरू। शिमियोनका— लड़ाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू। लेवीका— ४,६००। तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए, अनि एक वीर योद्धा सादोकको साथमा आफ्‍नै परिवारका बाईस अधिकृतहरू थिए। शाऊलका कुटुम्‍ब बेन्‍यामीनका— ३,०००। तिनीहरूमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलको घरानाका भक्त भई बसेका थिए। एफ्राइमका— २०,८०० लड़ाकू मानिसहरू, जो आफ्‍ना गोत्रमा प्रसिद्ध थिए। मनश्‍शेका आधा कुलका— १८,०००। दाऊदलाई राजा बनाउन यिनीहरू नै चुनिएका थिए। इस्‍साखारका— जुन कुलका मानिसहरू इस्राएलले कुनचाहिँ बाटो लिनुपर्ने हो सो थाहा पाउने र समयको चिन्‍ह बुझ्‍ने निपुण २०० जना प्रधानहरू, र तिनीहरूका अधीनमुनि भएका तिनीहरूका कुटुम्‍बहरू। जबूलूनका— लड़ाइँको निम्‍ति तयार भएका सब किसिमका हतियार प्रयोग गर्न सक्‍ने अनुभवी, साहसी र एकोहोरा ५०,००० योद्धाहरू। नप्‍तालीका— १,००० अधिकृतहरू, अनि ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू। दानका— लड़ाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू। आशेरका— लड़ाइँको निम्‍ति तयार भएका अनुभवी ४०,००० योद्धाहरू। रूबेन, गाद र यर्दनको पूर्वपट्टिका मनश्‍शेको आधा कुलका— सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू। यी सबै योद्धाहरू, लड़ाइँको निम्‍ति सुसज्‍जित मानिसहरू सारा इस्राएलमाथि दाऊदलाई राजा तुल्‍याउन दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए। बाँकी इस्राएलीहरूको पनि तिनलाई राजा तुल्‍याउने एउटै विचार थियो।