नहूम 2
2
निनवेको पतन
1हे निनवे! तँलाई विध्वंस पार्ने तँमाथि आइलागेको छ।
तेरा किल्लाहरू बलियो बना, बाटोमा पहरेदार राख्!
लडाइँको निम्ति तयारी गर्!
2(शत्रुहरूले लुटपिट गर्नुअघि जुन गौरव इस्राएलको थियो, त्यही गौरवपूर्ण अवस्थामा इस्राएललाई फेरि परमप्रभुले फर्काउन लाग्नुभएको छ।)
3शत्रुका सेनाहरूले राता-राता ढालहरू बोकेका छन्
र रातै पोशाक पहिरेका छन्।
तिनीहरूले हमला गर्ने तयारी गर्दै छन्।
तिनीहरूका रथहरू आगोझैँ झल्कन्छन्
तिनीहरूका घोडाहरू उफ्रन्छन्।
4रथहरू बाटोहरूमा खुब वेगले हानिएर जान्छन्
र सहरका चौडा चोकहरूका बीचबाट भएर यताउता दगुर्छन्।
तिनीहरू बल्दो राँकोझैँ झल्याक-झुलुक हुन्छन्
र बिजुली चम्केझैँ दगुर्छन्।
5अधिकृतहरूलाई हाजिर हुने आदेश भएको छ,
तिनीहरू ठोकर खाँदै, हुत्तिंदै अघिल्तिर आउँछन्।
हमला गर्नेहरू पर्खालतिर दगुरेर जान्छन्
र रक्षा गर्ने ठूलो ढाल तयार पारिन्छ।
6नदीको पानी आउने ढोकाहरू खोलिन्छ;
राजमहलमा भयले हाहाकार हुन्छ।
7रानी कैद गरी लगिन्छ;
त्यसका कमारीहरूले ढुकुरझैँ बिलौना गर्छन् र शोकले आ-आफ्ना छाती पिट्छन्।
8भत्केको बाँधबाट पानी निस्केझैँ
निनवेबाट मानिसहरू हतारिएर निस्कन्छन्,
“पख! पख!” भनी कराएको सुनिन्छ,
तर कसैले पनि पछि फर्केर हेर्दैन।
9चाँदी लुट! सुन लुट!
सहरमा धन-सम्पत्ति र बहुमूल्य वस्तुहरू छन्!
10निनवे नाश भएको छ, त्यागिएको छ, त्यो उजाड भएको छ।
मानिसहरूका हृदय डरले गल्दछन्।
घुँडाहरू काँप्दछन्; बल हराउँछ,
चेहराहरू डरले पहेंला हुन्छन्।
11सिंहको गुफाजस्तो त्यो सहर,
जवान सिंहहरूको खाना खाने ठाउँ,
जहाँ सिंह र सिंहनी डुल्दथे,
जहाँ तिनका डमरुहरू कुशलसाथ बस्दथे।
त्यस्तो सिंहको गुफाजस्तो त्यो सहर अहिले खोइ?
12सिंहले आफ्नो शिकार त्यहाँ मार्दथ्यो
र त्यसका सिंहनी र डमरुहरूको निम्ति टुक्रा-टुक्रा पार्दथ्यो।
शिकार मारी चिथोरेर ल्याएको मासुले गुफा भरिपूर्ण रहन्थ्यो।
13सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म तेरो शत्रु हुँ। म तेरा रथहरू आगोले भस्म पार्नेछु। लडाइँमा तेरा सेनाहरू मारिनेछन् र तैँले अरूलाई शिकार बनाई लुटेका सबै थोकहरू म खोसी लैजानेछु। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”
Pašlaik izvēlēts:
नहूम 2: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.