मत्ती 14
14
बप्तिस्मा दिने यूहन्नाको मृत्यु
(मर्कूस ६:१४-२९; लूका ९:७-९)
1त्यस बेला गालीलमा राज्य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्ना भारदारहरूलाई भने, 2“यिनी त मारिएका बप्तिस्मा दिने यूहन्ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्।”
3 #
लूका 3:19,20 पहिले आफ्ना भाइ फिलिपकी स्वास्नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्नालाई बाँधेर थुनामा राखेका थिए 4#लेवी 18:16; 20:21किनभने यूहन्नाले “आफ्नो भाइकी स्वास्नीलाई यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाएका थिए। 5यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्दथे।
6हेरोदको जन्मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए 7अनि उनले शपथ हाल्दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।” 8अनि त्यस केटीले आफ्नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।” 9यो सुनेर हेरोद चिन्तामा परे। तर त्यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्छा पूरा गरिदिए। 10उनले यूहन्नाको टाउको झ्यालखानमै काट्ने हुकुम दिए। 11काट्ने मानिसले यूहन्नाको टाउको थालमा ल्याएर त्यस केटीलाई दियो अनि केटीले आफ्नी आमालाई लगेर दिई। 12त्यसपछि यूहन्नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए।
येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभएको
(मर्कूस ६:३०-४४; लूका ९:१०-१७; यूहन्ना ६:१-१४)
13यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्त ठाउँतिर लाग्नुभयो। तर येशू जान लाग्नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्केर पैदलै उहाँको पछि लागे। 14येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्नुभयो। त्यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो।
15साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्यहाँ गएर खानेकुरा किनेर खाऊन्।” 16येशूले भन्नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” 17चेलाहरूले भने, “हामीहरूसँग त जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” 18येशूले भन्नुभयो, “खै रोटी र माछा मकहाँ ल्याओ त।”
19येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए। 20सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए। 21स्वास्नी मानिस र केटा-केटीहरूबाहेक लोग्ने मानिसहरू मात्रै पाँच हजार जति थिए।
येशू पानीमाथि हिँड्नुभएको
(मर्कूस ६:४५-५६; यूहन्ना ६:१५-२१)
22यो काम गरिसक्नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्नुभयो। 23तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्यो र येशू एक्लै डाँडामा हुनुहुन्थ्यो। 24त्यति बेलासम्म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्नै सकेनन्। 25बिहानै झिसमिसे उज्यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो। 26उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले। 27अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।”
28यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” 29येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। 30तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए। 31येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?” 32त्यसपछि येशू पत्रुससँगै नाउमा चढ्नुभयो अनि बतास पनि थामिहाल्यो। 33तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्टो पर्दै भने, “साँच्चै तपाईं त परमेश्वरकै पुत्र पो हुनुहुँदो रहेछ!”
34येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा ओर्लनुभयो। 35त्यहाँका मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। त्यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्याए 36अनि येशूलाई यसो भन्दै बिन्ती चढाए, “ती बिरामीहरूलाई आफ्ना लुगाको छेउ मात्र भए पनि छुन दिनुहोस्।” उहाँको लुगा छुने जति सबै जना निको भए।
Pašlaik izvēlēts:
मत्ती 14: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.