उत्पत्ति 13
13
अब्राम र लोत छुट्टिएका
1यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे। 2अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए।
3दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो 4र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे।
5अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए। 6तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्। 7अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे।
8यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ। 9के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”
10त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्ट गर्नु अगिको कुरा थियो।) 11यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। 12अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे। 13सदोमका मानिसहरू दुष्ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे।
14अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्चिम चारैतिर हेर्। 15तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु। 16म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्न सक्नेछ। 17जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।”
18यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।
Currently Selected:
उत्पत्ति 13: NCV
Tya elembo
Copy
Kokisana
Kabola
Olingi kobomba makomi na yo wapi otye elembo na baapareyi na yo nyonso? Kota to mpe Komisa nkombo
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.