उत्पत्तिको पुस्तक 20

20
अब्राहाम गरार तिर जान्छन्
1अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ। 2जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए। 3तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
4तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ? 5अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”
6त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। 7यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”
8यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए। 9त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो। 10तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”
11तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचें यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ। 12त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। 13परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’”
14तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेंडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए। 15अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यहीं बस्न सक्छौ।”
16सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”
17त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो। 18किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

Pati Souliye

Kopye

Konpare

Pataje

None

Ou vle gen souliye ou yo sere sou tout aparèy ou yo? Enskri oswa konekte