उत्पत्तिको पुस्तक 2

2
सातौं दिन—विश्राम
1यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। 2परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। 3परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
मानव जातिको शुरु
4आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। 5पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।
6पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। 7तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो। 8परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो। 9परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरू अनि खान योग्य फलहरू लाग्ने रुखहरू उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।
10बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो। 11ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। 12यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। 13दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। 14तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।
15तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। 16परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। 17तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”
पहिलो स्त्री
18तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”
19यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। 20अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन। 21त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। 22त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। 23तब त्यस मानिसले भने,
“आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
उसको हड्डी मेरो हड्डी बाट आयो,
अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”
24यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।
25त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।

वर्तमान में चयनित:

उत्पत्तिको पुस्तक 2: NERV

हाइलाइट

शेयर

कॉपी

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion आपके अनुभव को वैयक्तिकृत करने के लिए कुकीज़ का उपयोग करता है। हमारी वेबसाइट का उपयोग करके, आप हमारी गोपनीयता नीति में वर्णित कुकीज़ के हमारे उपयोग को स्वीकार करते हैं।