जकरियाको पुस्तक 1
1
परमप्रभु अफ्ना मानिसहरूलाई फेरि फर्काउन चाहनु हुन्छ
1बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौं महिनामा आएको थियो। (जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः
2परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो। 3यसर्थ तिमीहरूले मानिसहरूलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरूकहाँ फर्केर आउँनेछु।”
4परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
5परमप्रभुले भन्नुभयो, “तिमीहरूका पिता-पुर्खाहरू मरिसके अनि अगमवक्ताहरू सधैँ बाँचिरहँदैनन्। 6अगमवक्ताहरू मेरा सेवकहरू थिए। मैले उनीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूलाई मेरो व्यावस्था अनि शिक्षाहरूको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरूका पिता-पुर्खाहरूले शिक्षाहरू ग्रहण गरे। तिनीहरूले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरूले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”
घोडाहरूको दर्शन
7जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः
8राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए। 9मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?”
त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।”
10त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”
11त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”
12तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।”
13तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। 14त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:
“यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।
15म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु,
जसले आफू अति सुरक्षित अनुभव गर्छ,
म अधिक क्रोधित भएको थिएँ,
अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि,
ती जातिहरूको प्रयोग गरें।
तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”
16यसकारण, परमप्रभु भन्नुहुन्छ,
“म यरूशलेममा कृपा सहित जान्छु।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ
अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।”
17स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन,
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
‘मेरो शहरमा फेरि उन्नति हुनेछ,
परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ,
उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’”
सींङहरूको दर्शन
18तब मैले माथि हेरें अनि चारवटा सींङको दर्शन पाएँ। 19अनि मैले मसँग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरूको दर्शन के हो?”
उनले भने, “यी ती सींङहरू हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरूलाई छरपष्ट पारेका थिए।”
20त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरू देखाउँनु भयो। 21मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरू किन आएकाछन्?”
उहाँले भन्नुभयो, “यी सींङहरू जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरू ती देशहरू जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरू खडा पारे ती देशहरूलाई डर देखाउँन अनि तिनीहरूको सींङहरू फ्याँकिदिन आएका हुन्।”
Actualmente seleccionado:
जकरियाको पुस्तक 1: NERV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International