Logo de YouVersion
Icono de búsqueda

सपन्‍याह 1

1
1 # २ राजा 22:1—23:30; २ इतिहास 34:1—35:27 यहूदाको राजा आमोनका छोरा योशियाहको समयमा परमप्रभुले सपन्‍याहलाई दिनुभएको सन्‍देश यो हो। (सपन्‍याह हिजकिया राजाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति र कूशीका छोरा थिए।)
परमप्रभुको न्‍यायको दिन
2परमप्रभुले भन्‍नुभयो, “पृथ्‍वीमा भएका सबै थोक म नाश पार्नेछु। 3मानिसहरू, पशुहरू, चरा-चुरुङ्गीहरू र माछाहरू सबै म नाश गर्नेछु। म दुष्‍टलाई ध्‍वंस पार्नेछु। मानिस जातिलाई ध्‍वंस पार्नेछु। कोही बाँच्‍नेछैन। म परमप्रभुले बोलेको छु।
4“यरूशलेम र सारा यहूदा देशका मानिसहरूलाई म दण्‍ड दिनेछु। त्‍यहाँ बाल देवताको पूजा गर्ने विधि रतिभर म बाँकी राख्‍नेछैनँ र त्‍यसको मूर्तिको पूजा गर्ने कुनै पूजाहारीको यादसम्‍म कसैलाई रहनेछैन। 5छानामाथि चढेर घाम, जून र ताराहरू पुज्‍ने हरेकलाई म नाश गर्नेछु। मलाई पुज्‍ने र मप्रति भक्तिको शपथसम्‍म खाइटोपल्‍ने, तर त्‍यसपछि चाहिँ मोलेख देवताको नाममा साक्षी राखेर शपथ खानेहरू सबैलाई म नष्‍ट गर्नेछु। 6मकहाँ फर्केर पनि मलाई नपछ्याउने, मतिर नआउने वा मेरो अगुवाइ नलिनेहरूलाई म नाश गर्नेछु।”
7परमप्रभुको दिन नजिकै आएको छ। यसकारण सार्वभौम परमप्रभुको सामुन्‍ने चुप लाग। परमप्रभुले एउटा बलिदान तयार गर्नुभएको छ र निम्‍त्‍याइएकाहरूलाई चोख्‍याउनुभएको छ। 8परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस बलिदानको दिन म सबै भारदारहरू, राजकुमारहरू र विदेशी रीतिथिति मान्‍ने सबैलाई दण्‍ड दिनेछु। 9देवी-देवता मान्‍नेहरूले झैँ पूजा गर्ने र आफ्‍ना मालिकहरूको घर लुटेका धनले भर्नलाई चोरी र हत्‍या गर्ने सबै मानिसहरूलाई म दण्‍ड दिनेछु।”
10परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन यरूशलेमको माछा ढोकामा रुवावासी चलेको सुन्‍नेछौ। सहरको नयाँ टोलमा विलाप गरेको सुनिन्‍छ र डाँडा-डाँडामा भयानक आवाज सुनिनेछ। 11बजारमा बस्‍नेहरूचाहिँ विलाप गर्दै रोओ किनभने व्‍यापारीहरू सबै मरिसकेका हुनेछन्।
12“त्‍यस बेला हातमा बत्ती लिएर म यरूशलेममा खोजी गर्नेछु। आफैंमा सन्‍तोष गरी ढुक्‍क भई बस्‍ने र मनमा ‘परमप्रभुले असल या खराब केही गर्नुहुन्‍न’ भन्‍ने मानिसहरूलाई म दण्‍ड दिनेछु। 13तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन् र घरहरू भत्‍काइनेछन्। आफूले बनाएका घरहरूमा तिनीहरूले कहिल्‍यै बास गर्न पाउनेछैनन्। आफूले लगाएका दाखबारीबाट तिनीहरूले कहिल्‍यै दाखमद्य पिउन पाउनेछैनन्।”
14परमप्रभुको महान् दिन नजिकै छ, त्‍यो खुबै नजिक छ र चाँडो-चाँडो आइरहेछ। त्‍यो दिन अत्‍यन्‍तै तिक्त हुनेछ, महावीरपुरुषहरू पनि त्‍यस दिन जोडसित कराउनेछन्! 15त्‍यो क्रोधको दिन, दु:ख र सङ्‌कष्‍टको दिन, बरबादी र विनाशको दिन, कालो र बादल छाएको दिन हुनेछ। 16त्‍यो दिनमा तुरहीहरू बज्‍नेछन्, सुरक्षित सहरहरू र अग्‍ला किल्‍लाहरूमाथि आक्रमण गर्ने सेनाले आफ्‍नो सोर उचाल्‍नेछ।
17परमप्रभु भन्‍नुहुन्‍छ, “म मानिसहरूबीच यस्‍ता विपत्ति ल्‍याउनेछु कि तिनीहरूले अन्‍धाझैँ छाम-छाम छुम-छुम गरी हिँड्‍नेछन्। तिनीहरूले मेरो विरुद्धमा पाप गरेका छन्। अब तिनीहरूको रगत पानीझैँ खन्‍याइनेछ र लाशहरू सडेर जमिनमा परिरहनेछन्।”
18परमप्रभुको क्रोध प्रकट भएको दिन तिनीहरूका जम्‍मै सुन र चाँदीले पनि तिनीहरूलाई बचाउनेछैन। उहाँको क्रोधको आगोले सारा पृथ्‍वीलाई भस्‍म पार्नेछ। पृथ्‍वीका बासिन्‍दाहरू सबैको उहाँले अचानक अन्‍त गराउनुहुनेछ।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión