Logo de YouVersion
Icono de búsqueda

जकरिया 6

6
चारवटा रथहरूको दर्शन
1अर्को दर्शन मैले देखें। यसपालि काँसाका दुईवटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका मैले देखें। 2#प्रकाश 6:4; प्रकाश 6:5पहिलो रथ राता घोडाहरूले, दोस्रो रथ काला घोडाहरूले, 3#प्रकाश 6:2तेस्रो रथ सेता घोडाहरूले र चौथो रथ टाटे-पाङ्ग्रे घोडाहरूले तानेका थिए। 4तब मैले स्‍वर्गदूतलाई सोधें, “प्रभु, यी रथहरूको अर्थ के हो?”
5 # प्रकाश 7:1 उनले उत्तर दिए, “यी चार वायु हुन्। सारा जगत्‌को मालिकको सामुन्‍नेबाट भर्खर आइरहेका छन्।”
6काला घोडाहरूले तानेको रथ उत्तर बेबिलोनतर्फ गइरहेको थियो। सेता घोडाहरू पश्‍चिमतर्फ र टाटे-पाङ्ग्रे घोडाहरू दक्षिणको देशतर्फ गइरहेका थिए। 7बलिया-बलिया घोडाहरू निस्‍केर पृथ्‍वीको फेरो लाउन हतारिंदै थिए। स्‍वर्गदूतले भने, “जाओ, गएर पृथ्‍वीको फेरो लगाओ।” तिनीहरूले त्‍यसै गरे। 8तब स्‍वर्गदूतले कराएर मलाई भने, “उत्तर बेबिलोनतिर जाने घोडाहरूले परमप्रभुको आत्‍मालाई शान्‍त गराएका छन्।”
यहोशूलाई मुकुट लगाइदिने आज्ञा
9परमप्रभुले मलाई यो सन्‍देश दिनुभयो। 10उहाँले भन्‍नुभयो, “कैदबाट फर्की आएका हेल्‍दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्‍याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्। 11तिनीहरूले दिएका सुन र चाँदीले एउटा मुकुट बना र यहोसादाकको छोरो महापूजाहारी यहोशूको शिरमा मुकुट लगाइदे। 12#यर्मिया 23:5; 33:15; जकरिया 3:8त्‍यसलाई म सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाइदे, ‘हाँगो कहलाउने व्‍यक्ति जहाँ छ, त्‍यहीँ त्‍यसको बढिबढाउ हुनेछ र त्‍यसले परमप्रभुको मन्‍दिर फेरि नयाँ गरी बनाउनेछ। 13त्‍यसैले त्‍यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्‍यसले आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछ। त्‍यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्‍ति र मेल-मिलापका साथ काम गर्नेछन्।’ 14मुकुटचाहिँ हेल्‍दै, तोबियाह, यदायाह र योशियाहका सम्‍झनाको लागि परमप्रभुको मन्‍दिरमा राखिनेछ।”
15टाढाका मानिसहरू आएर परमप्रभुको मन्‍दिर फेरि बनाउने काममा मद्दत गर्नेछन्। मन्‍दिर बनिसकेपछि मलाई सर्वशक्तिमान् परमप्रभुले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले बुझ्‍नेछौ। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाहरू सम्‍पूर्णरूपले पालन गर्‍यौ भने यो कुरो पूरा हुनेछ।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión