Logo de YouVersion
Icono de búsqueda

लेवी 7

7
दोषबलि
1दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो। 2यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्‍छन् र त्‍यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ। 3त्‍यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्‍छर र भित्री अङ्‍गमाथिको बोसो 4र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्‍यसरी चढाइनुपर्छ। 5सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्‍यो दोषबलि हो। 6पूजाहारीहरूको परिवारले पुरुषले त्‍यो खाओस्, तर त्‍यो पवित्रस्‍थानमा खाइयोस् किनभने त्‍यो अति पवित्र छ।
7पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ। 8होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ। 9चुलामा सेकाएको वा भाँडा वा ताप्‍केमा पकाएको हरेक अन्‍नबलि परमेश्‍वरकहाँ बलि चढाउने पूजाहारीकै हो। 10तर नपकाएको अन्‍नबलि तेल मुछेको होस् वा सुक्‍खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्‍यो बराबर बाँडून्।
मेलबलि
11परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्‍तो नियम छ। 12यदि उसले त्‍यो बलि परमेश्‍वरलाई धन्‍यवाद दिन चढाएको हो भने बलिको पशुसित खमिरबिनाको रोटी पनि चढाओस्। त्‍यस्‍तो रोटी जैतुनको तेल मिसाएको पिठोले बनेको बाक्‍लो रोटी र फुरौला वा जैतुनको तेल दलेको स-साना रोटी होस्। 13त्‍यसबाहेक खमिर हालेर पकाएको बाक्‍लो रोटी चढाओस्। 14हरप्रकारको रोटीको एक भाग त्‍यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्‍यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ। 15पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्‍यसलाई भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू।
16यदि कोही मानिसले आफ्‍नो वाचा पूरा गर्न अथवा आफ्‍नो इच्‍छाले चढाएको भेटीको रूपमा मेलबलि चढाउँछ भने बलि चढाएकै दिनमा ती सबै खानुपर्दैन तर उब्रेको जति भोलिपल्‍ट खाए हुन्‍छ। 17तेस्रो दिनसम्‍म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ। 18त्‍यस्‍तो मासु तेस्रो दिनमा खायो भने परमेश्‍वरले त्‍यस मानिसको भेटी ग्रहण गर्नुहुनेछैन। त्‍यस भेटीको केही मूल्‍य हुनेछैन तर त्‍यो अशुद्ध गनिनेछ र जसले त्‍यो खानेछ, उसले त्‍यसको फल भोग्‍नेछ। 19रीतिअनुसार कुनै अशुद्ध कुराले त्‍यो मासुलाई छोयो भने सो मासु खानुहुँदैन तर जलाइनुपर्नेछ।
जो मानिस रीतिअनुसार शुद्ध छ, उसले त्‍यो मासु खान सक्‍नेछ, 20तर जो अशुद्ध छ, त्‍यसले खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। 21साथै मानिस वा पशुसँग सम्‍बन्‍धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्‍यो मासु खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन।
22-23इस्राएलीहरूको निम्‍ति परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो। गाई-गोरु, भेडा वा बाख्राको बोसो नखानू। 24आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्‍यसलाई अरू काममा चलाए हुन्‍छ। 25जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। 26#उत्‍पत्ति 9:4; लेवी 17:10-14; 19:26; व्यवस्था 12:16,23; 15:23इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्। 27जसले यो नियम तोड्छ, त्‍यो परमेश्‍वरको जन मानिनेछैन।
28-29परमप्रभुले मोशालाई इस्राएलीहरूको लागि यी नियमहरू दिनुभयो। जसले मेलबलि चढाउँछ, त्‍यसको एक भाग उसले परमप्रभुकहाँ विशेष भेटीको रूपमा 30आफ्‍नै हातले बलि चढाउन ल्‍याओस्। त्‍यसले पशुको ह्याकुलो र बोसो ल्‍याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। 31पूजाहारीले बोसो वेदीमा जलाओस् तर ह्याकुलो पूजाहारीहरूको हुनेछ। 32-33मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्‍लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू। 34पशुको ह्याकुलो एउटा विशेष भेटी र त्‍यसको दाहिने पछिल्‍लो साँप्रो एउटा विशेष दान हुन्, जुन परमप्रभुले इस्राएली जनसमुदायबाट लिएर पूजाहारीहरूलाई दिनुभएको हो। यी कुरा इस्राएलीहरूले सदाकालको निम्‍ति पूजाहारीहरूलाई दिनुपर्नेछ। 35यो परमप्रभुलाई चढाइएको बलिको एउटा भाग हो, जुन हारून र त्‍यसका छोराहरू पूजाहारी अभिषेक गरिएको दिनमा तिनीहरूलाई दिइएको थियो। 36त्‍यस दिन परमप्रभुले इस्राएलका जनसमुदायलाई भेटीको त्‍यो हिस्‍सा पूजाहारीहरूलाई दिनू भनी आज्ञा गर्नुभयो। यो इस्राएलीहरूले सदाको निम्‍ति मान्‍नुपर्ने नियम हो।
37यी नियमहरू होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्‍यवस्‍था हुन्। 38इस्राएलीहरूलाई भेटी ल्‍याउने आदेश दिनुभएको दिन मरुभूमिमा सीनै पर्वतमाथि परमप्रभुले यी आज्ञाहरू मोशालाई दिनुभएको हो।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión