Logo de YouVersion
Icono de búsqueda

लेवी 15

15
शरीरबाट निस्कने अशुद्ध कुराहरू
1-2परमप्रभुले मोशा र हारूनलाई इस्राएलीहरूका लागि यी तलका नियमहरू दिनुभयो, कुनै पुरुषको वीर्यपतन भयो भने खसेको धातु अशुद्ध हो। 3धातु खसोस् वा नखसोस्, प्रमेह रोग भएको मानिस अशुद्ध हो। 4त्‍यो बसेको वा सुतेको ओछ्यान अशुद्ध हुन्‍छ। 5जसले त्‍यसको ओछ्यान छुन्‍छ 6वा त्‍यो बसेको ठाउँमा बस्‍छ, त्‍यसले आफ्‍नो लुगा धोएर नुहाउनुपर्नेछ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 7त्‍यस्‍तो मानिसलाई छुनेले आफ्‍ना कपडा धुनुपर्छ र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 8त्‍यस्‍तो प्रमेह रोग भएको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने त्‍यस मानिसले आफ्‍ना कपडा धुनु र नुहाउनुपर्छ अनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 9त्‍यस्‍तो मानिस बसेको काठी वा आसन अशुद्ध हुन्‍छ। 10कसैले त्‍यस्‍तो आसनलाई छोयो भने त्‍यो मानिस साँझसम्‍म अशुद्ध हुनेछ, त्‍यस्‍तो मानिस कसैको कुनै कुरा बोक्‍ने मानिसले आफ्‍ना लुगा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 11त्‍यस्‍तो रोगीले आफ्‍नो हात नधोई कसैलाई छोयो भने जसलाई छोयो, त्‍यसले आफ्‍ना लुगा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 12त्‍यस्‍ताले छोएको माटोको भाँडा फुटाइनुपर्छ र काठको भाँडा हो भने धुनुपर्छ।
13त्‍यो मानिस प्रमेह रोगबाट निको भएपछि त्‍यसले सात दिनसम्‍म पर्खनुपर्छ र त्‍यसपछि आफ्‍ना कपडा धुनुपर्छ र मूल फुटेर बहेको चोखो पानीले नुहाउनुपर्छ र त्‍यो विधिअनुसार शुद्ध हुनेछ। 14आठौँ दिन त्‍यसले एक जोर परेवा कि ढुकुर परमप्रभुको पवित्र पालको ढोकामा लगेर पूजाहारीलाई देओस्। 15पूजाहारीले एउटाको पापबलि र अर्कोको होमबलि चढाओस्। त्‍यसरी पूजाहारीले त्‍यस मानिसको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ।
16कुनै मानिसको वीर्य झर्‍यो भने आफ्‍नो सारा शरीर त्‍यसले नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 17कपडा वा छालाले बनेको कुनै थोक, जसमाथि वीर्य झरेको छ, त्‍यो धुनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 18स्‍त्री र पुरुषको सम्‍भोग भएपछि दुवैले स्‍नान गर्नुपर्छ र ती दुवै साँझसम्‍म अशुद्ध रहनेछन्।
19स्‍वास्‍नी मानिसको रजस्वला भएको बेला त्‍यो स्‍त्री सात दिनसम्‍म अशुद्ध रहनेछ। त्‍यसलाई छुने व्‍यक्ति साँझसम्‍म अशुद्ध रहनेछ। 20त्‍यस्‍तो बेलामा त्‍यो बसेको र सुतेको थोक अशुद्ध हुनेछ। 21-23जसले त्‍यस्‍ती स्‍त्रीको ओछ्यान वा त्‍यो बसेको कुनै थोक छुन्‍छ, त्‍यसले आफ्‍नो कपडा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 24त्‍यस्‍ती स्‍त्रीसित कुनै पुरुषले त्‍यस बेला सम्‍भोग गर्‍यो भने त्‍यसलाई त्‍यो अशुद्धता लाग्‍नेछ र त्‍यो पनि सात दिनसम्‍म अशुद्ध रहनेछ। त्‍यो पुरुष सुतेको ओछ्यान अशुद्ध हुन्‍छ।
25रजस्वाला भएको बेलाबाहेक अरू समयमा पनि कुनै स्‍त्रीको रगत धेरै दिन बग्छ अथवा त्‍यसको समयभन्दा ज्‍यादा गरी रगत बग्यो भने त्‍यसरी रगत बगुञ्‍जेलसम्‍म रजस्वाला भएको बेलामा झैँ त्‍यो अशुद्ध रहनेछ। 26त्‍यति बेला त्‍यो सुतेको ओछ्यान वा त्‍यो बसेको कुनै थोक अशुद्ध हुनेछ। 27ती थोक छुने अशुद्ध हुन्‍छ, त्‍यसले आफ्‍नो कपडा धुनु र नुहाउनुपर्छ अनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 28रगत बग्‍न बन्‍द भएपछि त्‍यसले अरू सात दिन पर्खनुपर्छ, त्‍यसपछि मात्र त्‍यो विधिअनुसार शुद्ध हुनेछ। 29आठौँ दिन त्‍यसले एक जोर परेवा वा ढुकुर पूजाहारीकहाँ परमप्रभुको पवित्र पालको ढोकामा लैजानेछ। 30पूजाहारीले एउटालाई पापबलि र अर्कोलाई होमबलि गरी चढाउनेछ र त्‍यसरी त्‍यस स्‍त्रीको शुद्धीकरणको विधि पूरा गर्नेछ।
31छाउनीको बीचमा भएको परमप्रभुको पवित्र पाललाई इस्राएलीहरूले आफ्‍ना अपवित्रताले अशुद्ध नपारून् भनेर तिनीहरूलाई चेतावनी दिनलाई परमप्रभुले मोशालाई यो आज्ञा दिनुभयो, तिनीहरूले पवित्र पाल अपवित्र गरे भने मारिनेछन्।
32यी नियमहरू कुनै प्रमेह रोग लागेको वा वीर्यपतन हुने पुरुष 33र मासिक-धर्म हुँदैगरेकी स्‍त्री वा विधिअनुसार अशुद्ध रहेकी स्‍त्रीसँग सम्‍भोग गर्ने पुरुषका बारेमा दिइएका हुन्।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión