यूहन्ना 16
16
1“तिमीहरूको विश्वास नघटोस् भनेर मैले यी सबै कुरा भनेको हुँ। 2तिमीहरू यहूदी सभाघरबाट निकालिनेछौ। यस्तो समय पनि आउनेछ, जब तिमीहरूलाई मार्नेले ‘परमेश्वरको सेवा गर्दै छु’ भनी ठान्नेछ। 3पितालाई र मलाई नचिनेको हुनाले नै मानिसहरूले तिमीहरूलाई यसो गर्नेछन्। 4यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्नुभएको थियो!’ भनी सम्झनेछौ। त्यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्दै छु। “म अहिलेसम्म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ।
पवित्र आत्माको काम
5अहिलेचाहिँ म मलाई पठाउनुहुनेकहाँ जाँदै छु। तर ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ?’ भनेर तिमीहरू कसैले पनि सोध्दैनौ। 6मैले यी सबै कुरा भनेका हुनाले तिमीहरूको मन दु:ख र पीरले भरिएको छ। 7तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। 8उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। 9ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। 10उहाँले परमेश्वरको अगाडि केचाहिँ ठीक छ, त्यही देखाइदिनुहुन्छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्नेछैनौ। 11उहाँले तिनीहरूलाई परमेश्वरको न्याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।”
12“मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्न सक्दैनौ। 13तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। 14मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ। 15पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण मैले ‘सत्यको आत्माले तिमीहरूकहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ’ भनेको हुँ।”
चेलाहरूको शोक र आनन्द
16“थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि तिमीहरूले मलाई देख्नेछौ।” 17“उहाँले ‘थोरै समयपछि मलाई देख्ने छैनौ, फेरि केही समयपछि मलाई देख्नेछौ, फेरि म पिताकहाँ जाँदै छु’ पनि भन्दै हुनुहुन्छ, “यो के भनेको?” भन्दै उहाँका चेलाहरूले आपसमा सोधे। 18यो थोरै समयपछि भनेको के हो? उहाँले केको बारेमा भन्दै हुनुहुन्छ, हामीहरूले त बुझेनौं,” भनेर तिनीहरू अलमल्ल परे।
19तिनीहरूले यो कुराको बारेमा सोध्न चाहन्छन् भन्ने जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले भने ‘थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि देख्नेछौ।’ के यही कुराबारे तिमीहरूले आपसमा सोधपुछ गरेका होइनौ? 20साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू रुने र कराउनेछौ, तर दुनियाँचाहिँ खुसी हुनेछ। तिमीहरू दु:खी हुनेछौ, तर तिमीहरूको दु:ख र पीर आनन्दमा फेरिनेछ। 21नानी पाउन आँट्दा आमा कष्टले छटपटिन्छिन्, तर नानी पाउनेबित्तिकै ‘संसारमा एउटा बालकको जन्म भएको छ’ भन्ने हर्षले तिनी सबै दु:ख बिर्सेर खुसी हुन्छिन्। 22तिमीहरूलाई पनि त्यस्तै हुँदै छ। अहिले तिमीहरू शोक गर्छौ, तर म तिमीहरूलाई फेरि भेट्न आउँदा तिमीहरूको हृदय आनन्दले भरिनेछ र यस्तो खालको आनन्द तिमीहरूबाट कसैले पनि खोसेर लैजान सक्नेछैन। 23त्यति बेला तिमीहरूले मसँग केही पनि सोध्नेछैनौ। म साँच्चै भन्छु, मेरो नाउँमा जे मागे तापनि पिताले तिमीहरूलाई दिनुहुनेछ। 24अहिलेसम्म त तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ। माग त तिमीहरूले पाउनेछौ अनि तिमीहरूको आनन्द पूरा हुनेछ।
संसारमाथि विजय
25“अहिलेचाहिँ म तिमीहरूलाई दृष्टान्तको कथा दिएर कुरा गर्दै छु, तर पछि भने मैले तिमीहरूलाई पिताको बारेमा दृष्टान्त नदिई छर्लङ्ग हुने गरी भन्नेछु। 26त्यस बेला तिमीहरू आफैंले मेरो नाउँमा माग्नेछौ, मैले तिमीहरूको लागि पितासँग मागिदिनु पर्नेछैन। 27पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरबाट आएको हुँ भनेर विश्वास गरेका छौ। 28म पिताबाटै संसारमा आएको हुँ र अहिले संसारलाई छोडेर फेरि पिताकहाँ नै फर्किंदै छु।”
29तब चेलाहरूले येशूलाई भने, “अहिले पो तपाईं दृष्टान्त नदिई हामीलाई सोझै भन्दै हुनुहुन्छ। 30अब हामी जान्दछौ, तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई अब कसैले प्रश्न गर्नुपर्दैन। त्यसैले तपाईं परमेश्वरबाट नै आउनुभएको हो भनेर हामी विश्वास गर्छौं।” 31येशूले जवाफ दिनुभयो, “अहिले त तिमीहरू विश्वास गर्छौ। 32तर समय आउँदै छ र नजिकै आइसक्यो, त्यति बेला तिमीहरू सबै तितरबितर हुनेछौ। तिमीहरू आ-आफ्ना घरमा जानेछौ र मलाई एक्लै छोड्नेछौ। तर हेर, म एक्लै हुनेछैनँ किनभने मसँग मेरा पिता हुनुहुन्छ।
33“तिमीहरू ममा रहेर शान्ति पाउन सक भनेर नै मैले तिमीहरूलाई यी सबै कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहसिलो होओ किनभने मैले संसारलाई जितिसकेको छु।”
Actualmente seleccionado:
यूहन्ना 16: सरल नेपाली
Destacar
Compartir
Copiar

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.