उत्पत्ति 32
32
याकूबको एसावलाई भेट्ने तयारी
1याकूब आफ्नो बाटो लागे र परमेश्वरका दूतहरूले उनलाई भेटे। 2तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्वरको छाउनी हो।” उनले त्यस ठाउँको नाम ‘महनोम’ राखे।
3याकूबले एदोम देशमा आफ्ना दाजु एसावकहाँ अघि-अघि आफ्ना दूतहरूलाई पठाए। 4तिनीहरूलाई एसावलाई यसो भन्नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्ना स्वामी एसावलाई यसो भन्छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्म फर्किनँ। 5मसँग गाई-गोरु, गधा, भेडा-बाख्रा र कमारा-कमारीहरू छन्। तपाईंको दया पाऊँ भनी हजुरलाई यो खबर बिन्ती गर्दछु।”
6ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्न उहाँ आउँदै हुनुहुन्छ। उहाँसित चार सय मानिसहरू छन्।” 7याकूब डराए अनि चिन्तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। 8उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्न सक्ला।
9त्यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्ना कुटुम्बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्नुभएको थियो। 10म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्य म छैनँ। खालि एउटा हातमा टेक्ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। 11म बिन्ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ। 12#उत्पत्ति 22:17तपाईंले मसित प्रतिज्ञा गर्नुभएको थियो कि सबै कुरा तपाईंले ठीक गरिदिनुहुनेछ अनि मलाई समुद्रको किनारमा भएको बालुवाका कणसरि कसैले गन्न नसक्ने गरी सन्तान दिनुहुनेछ। त्यो करार याद गर्नुहोस्।”
13-15त्यो रात याकूबले त्यहीँ काटे। त्यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू। 16उनले तिनीहरूका अलग-अलग बथान बनाए र एक-एक वटा चाकरलाई बथान-बथानको जिम्मा दिए। उनले तिनीहरूलाई भने, “बथानको बीच-बीचमा खाली ठाउँ छोडेर राख। बथानहरू लिएर मेरा अघि-अघि तिमीहरू जाओ।” 17तिनले सबैभन्दा अघिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने 18तैँले जवाफमा यसो भन्नू, ‘यी तपाईंका दास याकूबका हुन्। उनले यी आफ्ना स्वामी एसावलाई सौगात पठाउनुभएको हो। याकूब पछि आउँदै छन्’।” 19उनले त्यस्तै आज्ञा दोस्रो, तेस्रो र त्यसपछिको बथान लिई जाने चाकरहरूलाई दिए, “तिमीहरूले एसावलाई भेट्दा यसो भन्नू, 20‘हजुर, तपाईंको दास याकूब पछिपछि आउँदै छन्’।” याकूबले सोच्दै थिए कि यो सौगातले म उनको मन जित्नेछु र मसँग भेट हुँदा सायद उनले मलाई माफ देलान्। 21यी सौगातहरू उनले अघि-अघि पठाए र आफू राती त्यहाँ पालमा बसे।
पनीएलमा याकूबको कुस्ती
22त्यही रात याकूब उठे र आफ्ना दुई स्वास्नी, दुई दासी र एघार जना छोरा-छोरीहरूलाई लिई यब्बोक नदी पार गरे। 23तिनीहरू पार भएपछि उनले आफ्ना चीजबीजहरू पनि पार गराए। 24#होशे 12:3,4उनी आफैंचाहिँ एक्लै त्यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्म उनीसित कुस्ती लडे। 25त्यस मानिसले आफूले जित्न नसकेको देखेर याकूबको कम्मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्काइदिए। 26तब त्यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्यो।”
याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्जेल म तपाईंलाई जान दिन्नँ।”
27“तिम्रो नाम के हो?” त्यस मानिसले सोधे।
“याकूब!” उनले उत्तर दिए।
28 #
उत्पत्ति 35:10
त्यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।”
29 #
न्यायकर्ता 13:17,18 याकूबले भने, “मलाई तपाईंको नाम बताउनुहोस्।”
तर उनले उत्तर दिए, “तिमीलाई मेरो नाम किन चाहियो?” तब उनले याकूबलाई आशीर्वाद दिए।
30याकूबले भने, “मैले परमेश्वरलाई मुखामुख देखें र पनि बाँचेकै छु।” उनले त्यस ठाउँको नाम पनीएल राखे। 31याकूब पनीएलबाट हिँड्दा घाम झुल्क्यो। कम्मरको गेडी फुस्किएकोले उनी खोच्याउँदै हिँडे। 32अझसम्म पनि इस्राएलका सन्तानले कम्मरका जोर्नीको मासु खाँदैनन् किनभने त्यहीँ मांसपिण्डमा याकूबलाई चोट लागेको थियो।
Actualmente seleccionado:
उत्पत्ति 32: सरल नेपाली
Destacar
Compartir
Copiar

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.