Logo de YouVersion
Icono de búsqueda

प्रेरित 14

14
आइकोनियन सहरमा
1आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्‍तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्‍तो किसिमले बोले, त्‍यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गरे। 2तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले। 3तापनि पावल र बारनाबास त्‍यस सहरमा निकै दिनसम्‍म बसे। तिनीहरूले आफ्‍नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्‍यो अनुग्रहको सन्‍देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो। 4तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे। 5अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे। 6तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्‍त्रा र डर्बी सहरमा गए। 7ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे।
लुस्‍त्रा र डर्बी सहरमा
8लुस्‍त्रा सहरमा एउटा लङ्गडो मानिस बस्‍थ्‍यो। ऊ जन्‍मैदेखिको कुँजो भएकोले कहिल्‍यै हिँड्‍न सकेको थिएन। 9पावल बोल्‍दा उसले ध्‍यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्‍यो मानिसले “म पनि निको हुन सक्‍छु,” भनी विश्‍वास गर्दोरहेछ भन्‍ने पावलले थाहा पाए। 10पावलले ठूलो सोरमा भने, “उठ र आफ्‍नो खुट्टामा उभ।” यसो भनेको सुन्‍नेबित्तिकै त्‍यो मानिस जुरुक्‍क उठ्यो अनि आफ्‍नो खुट्टा टेकेर हिँड्‍न थाल्‍यो।
11पावलले यस्‍तो काम गरेको देखेर त्‍यहाँका मानिसहरूले आफ्‍ना लुकोनिया भाषामा कराएर भन्‍न लागे, “देवताहरू त मानिस भएर हामीहरूकहाँ आएछन्।” 12उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्‍झे र पावलले नै मुख्‍य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्‍झे। 13जिउस देवताको मन्‍दिरचाहिँ त्‍यस सहरको छेउमा नै थियो। त्‍यो मन्‍दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे।
14यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्‍दै आ-आफ्‍नो लुगा च्‍यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने, 15#प्रस्‍थान 20:11; भजनसंग्रह 146:6“हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्‍तै दु:ख-सुख झेल्‍ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्‍वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्‍तो नचाहिँदो काम छोडेर स्‍वर्ग र पृथ्‍वी अनि त्‍यहाँ भएका सबै कुरा सृष्‍टि गर्नुहुने जिउँदो परमेश्‍वरलाई मान्‍नुपर्छ। 16उहिलेका मानिसहरूलाई त परमेश्‍वरले आफूखुसी गर्न दिनुभएको थियो। 17उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्‍नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्‍जनी गराइदिनुहुन्‍छ। प्रशस्‍त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्‍छ। यसरी परमेश्‍वरका कामहरूले नै उहाँको साक्षी दिन्‍छन्।” 18यी सबै कुरा भनेर पावल र बारनाबासले आफूलाई चढाउन ठीक पारेको बलिलाई धेरै मुस्किलले रोक्‍न सके।
19त्‍यसपछि पिसिदिया क्षेत्रको एन्‍टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्‍यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्‍साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्‍यो भन्‍ने सम्‍झी उनलाई घिस्‍सार्दै लगेर सहरबाहिर फ्‍याँकिदिए। 20तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्‍मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्‍ट उनी बारनाबाससँगै डर्बी सहरमा गए।
सिरियाको एन्‍टिओखियामा फर्किएका
21पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्‍यसपछि तिनीहरू लुस्‍त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्‍टिओखियामा फर्के। 22तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्‍वासमा रहिरहने हौसला दिए। “परमेश्‍वरको राज्‍यमा पुग्‍नुभन्दा अघि हामीले दु:ख, कष्‍ट र खेदो सहनुपर्छ,” भन्‍ने कुरा सिकाए। 23तिनीहरूले प्रत्येक मण्‍डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्‍वास गरेका प्रभुको चरणमा सुम्‍पिदिए।
24पिसिदिया इलाका भएर तिनीहरू पामफिलिया क्षेत्रमा फर्केर आए। 25पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्‍टको प्रचार गरे। त्‍यसपछि तिनीहरू अटालिया सहरतिर झरे। 26त्‍यहाँ पानीजहाजमा चढेर एन्‍टिओखिया सहरमा फर्किए। यही एन्‍टिओखिया सहरका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावल र बारनाबासलाई परमेश्‍वरको अनुग्रहमा सुम्‍पिदिएर प्रचारको काममा पठाएका थिए र त्‍यो काम पूरा गरेर उनीहरू त्‍यहीँ नै फर्किए।
27एन्‍टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्‍डलीका सबैलाई बोलाए। परमेश्‍वरले उनीहरूद्वारा कस्‍तो-कस्‍तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्‍वास गर्ने बाटो खोलिदिनुभयो भन्‍ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए। 28त्‍यसपछि उनीहरू निकै दिनसम्‍म एन्‍टिओखियाका मण्‍डलीका दाजुभाइहरूसँग बसे।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión