Logo de YouVersion
Icono de búsqueda

प्रेरित 12

12
हेरोद राजाबाट सतावट
1ती दिनहरूमा हेरोद राजाले मण्‍डलीका केही दाजुभाइहरूलाई पक्रेर उनीहरूमाथि अत्‍याचार गर्न थाले। 2तिनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मार्न लगाए। 3यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्‍यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्‍ने चाडको समय थियो। 4#प्रस्‍थान 12:1-27हेरोदले पत्रुसलाई झ्‍यालखानभित्र राखे र सोह्र जना सिपाहीलाई चार-चार जनाको टोली बनाई पहरा दिएर राखे। निस्तार चाडपछि पत्रुसलाई यहूदीहरूको अगाडि ल्‍याउने हेरोदको विचार थियो। 5पत्रुस झ्‍यालखानभित्र कैद हुँदा मण्‍डलीले एउटै मनका भएर तिनको लागि परमेश्‍वरसँग लगातार प्रार्थना गरिरहेका थिए।
झ्‍यालखानबाट पत्रुसको छुट्‍कारा
6हेरोदले पत्रुसलाई मानिसको अगाडि ल्‍याउने दिनको अघिल्‍लो रात पत्रुस दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। उनलाई दुई वटा साङ्लाले बाँधिएको थियो र ढोकामा पालेहरू पहरा दिइरहेका थिए। 7तब अचानक प्रभुका एउटा स्‍वर्गदूत देखा परे र कोठा उज्‍यालो भयो। स्‍वर्गदूतले पत्रुसको कुममा घचघच्याउँदै “चाँडै उठ,” भनेर उठाए। त्‍यत्तिकैमा पत्रुसका हातमा बाँधेका साङ्लाहरू फुस्‍केर झरे। 8स्‍वर्गदूतले भने, “पटुका बाँधेर जुत्ता लगाऊ!” पत्रुसले लगाए र स्‍वर्गदूतले भने, “खास्‍टो ओढेर मेरो पछि लाग!” 9स्‍वर्गदूतको पछि-पछि लागेर पत्रुस झ्‍यालखानबाट निस्‍किआए। तर स्‍वर्गदूतले गरेका यी कुरा साँच्‍चै हो भनेर उनलाई थाहा थिएन। उनले त सपनामा दर्शन देख्‍दै छु भन्‍ठानेका थिए। 10स्‍वर्गदूत र पत्रुस पहिलो र दोस्रो पहरा भएर सहरको फलामे मूल-ढोकामा आइपुगे। त्‍यो ढोका आफैं खुल्‍यो र तिनीहरू बाहिर निस्‍के। एक गल्‍ली पार गरेपछि स्‍वर्गदूत पत्रुसलाई छोडेर गइहाले।
11त्‍यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्‍पष्‍टसँग थाहा भयो– “परमेश्‍वरले साँच्‍चै आफ्‍नो स्‍वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।”
12यो कुरा बुझेपछि उनी मरियमको घरमा गए। मरियमचाहिँ मर्कूस भनिने यूहन्‍नाकी आमा थिइन्। मरियमको घरमा धेरै मानिसहरू जम्‍मा भएर प्रार्थना गरिरहेका थिए। 13पत्रुसले ढोका ढक्ढक्याउँदा रोदा भन्‍ने एक जना नोकर्नी हेर्न आई। 14पत्रुसको सोर चिनेपछि त्‍यसले खुसीले गद्‌गद् भएर ढोकै नउघारी भित्रतिर दौडेर गई र भनी, “पत्रुस ढोकामा उभिरहनुभएको छ।” 15तिनीहरूले त्‍यसलाई भने, “तँ बौलाएकी छस् कि क्‍या हो?” तर त्‍यसले “हो, पत्रुस नै हुनुहुन्‍छ, साँच्‍चै हो,” भनेर जिद्दी गरी। तिनीहरूले भने, “त्‍यसो भए उनी पत्रुसलाई हेरचाहा गर्ने स्‍वर्गदूत होलान्।”
16पत्रुसले चाहिँ ढोका ढक्ढकाइरहे। आखिरमा तिनीहरूले ढोका खोले। पत्रुसलाई नै देख्‍दा तिनीहरू छक्‍कै परे। 17पत्रुसले तिनीहरूलाई हातको इशाराले चुप गराए अनि परमेश्‍वरले आफूलाई कसरी झ्‍यालखानबाट निकाल्‍नुभयो भन्‍ने कुरा तिनीहरूलाई सुनाए। “याकूब र मण्‍डलीका अरू दाजुभाइहरूलाई पनि यो कुरा सुनाइदिनू है,” भनेर तिनी त्‍यहाँबाट गइहाले।
18बिहान पहरा बस्‍ने सिपाहीहरूको बीचमा ‘पत्रुसलाई के भयो’ भनेर ठूलो हलचल मच्‍चियो। 19हेरोदले तिनलाई खोज्‍ने हुकुम दिए, तर तिनीहरूले पत्रुसलाई कहीँ पनि फेला पार्न सकेनन्। त्‍यसो हुँदा हेरोदले पहरा बस्‍ने सिपाहीहरूलाई पूरै केरकार गरे र जवाफ नपाउँदा तिनीहरूलाई मृत्‍युदण्‍ड दिए। त्‍यसपछि हेरोद यरूशलेम छोडेर कैसरिया सहरमा गए अनि त्‍यहीँ नै बसे।
हेरोद राजाको मृत्‍यु
20हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्‍यो। त्‍यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्‍छे बलस्‍तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे।
21तोकिएको दिनमा हेरोदले राजाको पोशाक लगाई मानिसहरूका अघि सिंहासनमा बसेर ती नेताहरूको अगाडि भाषण दिए। 22मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्‍वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे। 23यसरी हेरोदले परमेश्‍वरलाई आदर नदिएकोमा एक्‍कासि प्रभुका एउटा स्‍वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे।
24तर परमेश्‍वरले पठाउनुभएको परमेश्‍वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो।
25बारनाबास र शाऊलले आर्थिक सहायता पुर्‍याउने काम पूरा गरेपछि तिनीहरू मर्कूस भनिने यूहन्‍नालाई लिएर यरूशलेमबाट एन्‍टिओखिया सहरमा फर्केर आए।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión