Logo de YouVersion
Icono de búsqueda

२ कोरिन्थी 7

7
पावलको आनन्‍द
1यसकारण प्‍यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्‍मालाई बिटुल्‍याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्‍वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं। 2हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्‍याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं। 3तिमीहरूलाई दोष्‍याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्‍यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ। 4तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्‍ड पनि लाग्‍छ। तिमीहरूबाट मैले पूरा सान्‍त्‍वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्‍दै-आनन्‍द पाउँछु। 5#२ कोरिन्थी 2:13साँच्‍चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्‍यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो। 6तर मनमा दु:ख हुनेहरूलाई परमेश्‍वरले नै सान्‍त्‍वना दिनुहुन्‍छ र परमेश्‍वरले तीतस आउँदा हामीलाई शान्‍ति दिनुभयो। 7उनी आएकोले मात्र होइन तर उनले तिमीहरूबाट पाएको सान्‍त्‍वनाद्वारा मैले सान्‍त्‍वना पाएँ। मलाई फेरि भेट्‍ने तिमीहरूको ठूलो चाहना छ रे भनी उनले हामीलाई बताए। अब तिमीहरू दु:खित पनि भयौ र मेरो पक्षमा लागेका छौ भनी मैले सुनें, यी सब सुनेर म साह्रै रमाएको छु।
8मेरो पत्रले तिमीहरूलाई कष्‍ट भयो नै होला, भए पनि मेरो मनमा पश्‍चात्ताप छैन। म जान्‍दछु, त्‍यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्‍यो। यो जानेर मलाई पश्‍चात्ताप भए तापनि अब म खुसी छु। 9तिमीहरूलाई कष्‍ट पर्‍यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्‍यो भनेर खुसी लागेको हो। परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौ। त्‍यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन। 10परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौं भने यसले हामीमा पश्‍चात्ताप ल्‍याउँछ र हामीलाई मुक्तितिर लैजान्‍छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्‍छ भने यसले हामीलाई मृत्‍युतिर लैजान्‍छ। 11तिमीहरूलाई परेको दु:खबाट परमेश्‍वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्‍तो झोक चलायो, कत्रो चिन्‍ता, कस्‍तो विचार, कस्‍तो भक्ति पैदा गर्‍यो। तिमीहरूमा पाप गर्नेलाई दण्‍ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्‍ने कुरा थाहा हुन्‍छ। 12यसकारण मैले त्‍यो पत्र अन्‍याय गर्नको लागि लेखेको होइन, नता अन्‍याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्‍वरका अघि हामीलाई कति माया गर्‍यौ, त्‍यही देखाउन मैले लेखेको हुँ। 13त्‍यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्‍द पाएको हुनाले हामीले पनि धेरै आनन्‍द पाएका छौं। 14मैले तीतससँग तिमीहरूको बारेमा घमण्‍ड गरें र तिमीहरूले मलाई निराश गराएनौ। हामीले तिमीहरूसँग सधैँ साँचो बोल्‍यौं। त्‍यसै गरी हामीले तीतससँग गरेको घमण्‍ड पनि सत्‍य नै ठहरियो। 15तिमीहरूले तीतसलाई डर मानेर स्‍वागत गर्‍यौ, उनको कुरा मान्‍न तिमीहरू सबै जना तयार भयौ। यी सबै कुरा याद गरेर तीतसले तिमीहरूलाई झन् साह्रो माया गर्छन्। 16मलाई कति खुसी लागेको छ र मैले तिमीहरूमा पूरा भरोसा राख्‍न सकेको छु।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión