लेवी 9

9
हारूनले बलि चढाउँछन्
1अभिषेक विधि पूरा भएको भोलिपल्‍ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए। 2तिनले हारूनलाई भने, “एक-एक वटा निष्‍खोट साँढे र साँढ-भेडालाई ल्‍याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ। 3-4तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्‍खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्‍नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।”
5तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्‍ने ल्‍याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्‍न त्‍यहाँ भेला भए। 6मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्‍योति तिनीहरूकहाँ देखापर्नेछ।” 7#हिब्रू 7:27तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्‍नको लागि यो बलि चढाऊ।”
8हारून वेदीछेउ गए र एउटा साँढे आफ्‍नो लागि पापबलि चढाए। 9तिनका छोराहरूले रगत ल्‍याए र तिनले आफ्‍ना औँला चोपेर केही रगत वेदीका कुनाका चोसाहरूमा लगाइदिए र बाँकी रगत वेदीको फेदहरूमा खन्‍याईदिए। 10तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए। 11तर उनले मासु र छाला छाउनीबाहिर जलाए।
12आफ्‍नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्‍याए र तिनले रगत वेदीको चारैपट्टि छर्के। 13तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए। 14त्‍यसपछि तिनले भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू धोएर वेदीमा होमबलिमाथि राखेर जलाए।
15त्‍यसपछि तिनले मानिसहरूका भेटीहरू चढाए। तिनले मानिसहरूका पापको लागि चढाइनुपर्ने बाख्रा लिएर काटे र आफ्‍नै पापबलि चढाएझैँ त्‍यो चढाए। 16तिनले होमबलिको पशु लिए र त्‍यसलाई पनि विधिअनुसार चढाए। 17तिनले अन्‍नबलि चढाए र एक मुट्ठी पिठो लिएर वेदीमा जलाए। (यो दैनिक होमबलिबाहेक अरू थपिएको बलि थियो।) 18#लेवी 3:1-11तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्‍याए र तिनले त्‍यो वेदीको चारैपट्टि छर्के। 19हारूनले साँढे र साँढ-भेडाको बोसेपुच्‍छर, आन्‍द्रा र मृगौला ढाक्‍ने बोसो र कलेजोको उत्तम भाग 20पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए 21र ह्याकुला र पछिल्‍ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए।
22 # गन्ती 6:22-26 हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्‍ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्‍यसपछि तिनी ओर्ले। 23मोशा र हारून परमप्रभुको पवित्र पालभित्र पसे र बाहिर निस्‍केर तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमापूर्ण ज्‍योति सबै मानिसहरूले देखे। 24अचानक परमप्रभुले आगोको मुस्‍लो पठाउनुभयो र त्‍यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्‍म पार्‍यो। त्‍यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्‍म शिर झुकाएर ढोगे।

Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:

लेवी 9: सरल नेपाली

Ìsàmì-sí

Pín

Daako

None

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀