उत्‍पत्ति 28

28
1इसहाकले याकूबलाई बोलाएर आशिष् दिएर भने, “कनानी केटी विवाह नगर्‌। 2बरु पद्दन-अराममा तेरा बाजे बतूएलको घरमा जा र त्‍यहाँ तेरो मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌। 3सर्वशक्तिमान्‌ परमेश्‍वरले तेरो विवाहमा आशीर्वाद देऊन् र तँलाई धेरै सन्‍तान देऊन् र तँ धेरै जातिहरूका पुर्खा भएस्! 4#उत्‍पत्ति 17:4-8उहाँले अब्राहामलाई जस्‍तै तँ र तेरा सन्‍तानलाई आशिष् देऊन् र यो तँ बसेको देश, जुन देश परमेश्‍वरले अब्राहामलाई दिनुभयो, त्‍यसमाथि तेरो अधिकार होस्!” 5इसहाकले याकूबलाई लाबानकहाँ पद्दन-अराममा पठाए। लाबान अरामी बतूएलका छोरा अनि एसाव र याकूबकी आमा रिबेकाका दाजु थिए।
एसावले अर्को विवाह गर्छन्‌
6बुबाले याकूबलाई आशिष् दिएर स्‍वास्‍नी खोज्‍न पद्दन-अराममा पठाएको कुरा एसावले थाहा पाए। आशिष् दिँदा बुबाले याकूबलाई कनानी स्‍त्री विवाह नगर्नू भनेको पनि उनले थाहा पाए। 7आमा-बुबाका कुरा मानेर याकूब पद्दन-अराममा गएको पनि उनले चाल पाए। 8त्‍यसबाट बुबाले कनानी स्‍त्री मन नपराउँदा रहेछन् भनी एसावले बुझे। 9उनी इश्‍माएलकहाँ गए र उनकी छोरी अनि नबायोतकी बहिनी महलतलाई विवाह गरे। इश्‍माएल अब्राहामका छोरा थिए।
याकूबले बेथेलमा सपना देख्‍छन्‌
10याकूब बेर्शेबा छोडेर हारानतिर लागे। 11घाम अस्‍ताउँदा उनी एउटा पवित्र स्‍थानमा पुगेर त्‍यहाँ आफ्‍ना पाल टाँगे र त्‍यहाँ बास बसे। एउटा ढुङ्गाको सिरानी लाएर उनी त्‍यहाँ सुते। 12#यूहन्‍ना 1:51उनले एउटा सपना देखे। सपनामा उनले पृथ्‍वीदेखि स्‍वर्गसम्‍म पुगेको एउटा भर्‍याङ देखे। भर्‍याङमा स्‍वर्गदूतहरू उक्‍लँदै-ओर्लंदै गरिरहेका थिए। 13#उत्‍पत्ति 13:14,15त्‍यहाँ उनको छेउमा परमप्रभु उभिरहनुभएको रहेछ। उहाँले भन्‍नुभयो, “म परमप्रभु अब्राहाम र इसहाकका परमेश्‍वर हुँ। तँ सुतिरहेको यो ठाउँ तँ र तेरा सन्‍तानलाई म दिनेछु। 14#उत्‍पत्ति 12:3; 22:18तिनीहरूका सङ्‍ख्‍या पृथ्‍वीमा भएका बालुवाका कणका सङ्‍ख्‍या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्‍नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। 15म तँसित रहनेछु, जहाँ गए पनि तँलाई म रक्षा गर्नेछु र यस देशमा म तँलाई फर्काइल्‍याउनेछु भनी याद राख्। तँसित प्रतिज्ञा गरेका सबै कुरा पूरा नभइञ्‍जेल म तँलाई छोड्‍नेछैनँ।”
16याकूब ब्‍यूँझे र उनले भने, “परमप्रभु यहाँ हुनुहुन्‍छ! उहाँ यस ठाउँमा हुनुहुन्‍छ तर मलाई थाहा थिएन।” 17उनले डराएर भने, “यो कस्‍तो भययोग्‍य ठाउँ रहेछ! यो परमेश्‍वरको भवन हुनुपर्छ, यो स्‍वर्गको ढोका नै हुनुपर्छ।”
18भोलिपल्‍ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्‍यो ढुङ्गा ठड्याएर उनले त्‍यसलाई एउटा स्‍मारक बनाए, त्‍यसलाई अभिषेक गरेर त्‍यसको टुप्‍पामा तेल खनाए। 19उनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। (पहिले त्‍यस सहरको नाम लूज थियो।) 20तब याकूबले परमप्रभुसित एउटा भाकल गरे, “यदि तपाईं मसँग रहनुभयो र मेरा यात्रामा मेरो रक्षा गर्नुभयो मलाई भोजन र वस्‍त्र दिनुभयो 21र म कुशलसाथ मेरा बुबाको घरमा फर्की आएँ भने तपाईं मेरा परमेश्‍वर हुनुहुनेछ। 22मैले खडा गरेको यो ढुङ्गा परमेश्‍वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”

Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:

उत्‍पत्ति 28: सरल नेपाली

Ìsàmì-sí

Pín

Daako

None

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀