प्रस्थान 33
33
परमप्रभुले इस्राएलीहरूलाई सीनै पर्वत छोड्न लाउनुहुन्छ
1 #
उत्पत्ति 12:7;
उत्पत्ति 26:3;
उत्पत्ति 28:13
परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले र मिश्रदेशदेखि ल्याएका मानिसहरूले यो ठाउँ छोड्न र मैले अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा जानू। 2म तिमीहरूको अगुवाइ गर्न एउटा स्वर्गदूत पठाइदिनेछु र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। 3तिमीहरू एउटा धनी र मलिलो देशमा जाँदै छौ। म आफैंचाहिँ तिमीहरूसित जानेछैनँ किनभने तिमीहरू हठी छौ र बाटोमा म तिमीहरूलाई नाश पार्न सक्छु।”
4यो कुरा सुनेर मानिसहरू विलाप गर्न थाले र तिनीहरूले गरगहना लाउन छोडे। 5तिनीहरूलाई यसो भन्न परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो, “तिमीहरू हठी मानिस छौ। म तिमीहरूसित एकै दिन मात्र हिँडे भने पनि म तिमीहरूलाई पूरा नाश पार्नेछु। अब तिमीहरूले आफ्ना गरगहना खोल र तिमीहरूलाई के गर्नुपर्ने हो, सो म निश्चय गर्नेछु।” 6यसरी इस्राएलका मानिसहरूले सीनै पर्वत छोडेपछि गरगहना लाएनन्।
परमप्रभु बास गर्ने पवित्र पाल
7जहिलेजहिले इस्राएलका मानिसहरूले पाल टाँगेर डेरा बनाउँथे, मोशाले पालदेखि केही टाढासम्म पवित्र पाल लगेर राख्थे। त्यसलाई परमप्रभुको पवित्र पाल भनिन्थ्यो र त्यहाँ परमप्रभुको राय लिन चाहने मानिस जानेगर्थ्यो। 8जहिलेजहिले मोशा त्यहाँ जान्थे, मानिसहरू आ-आफ्ना तम्बुको ढोकानिर उभिएर मोशा पवित्र पालभित्र नपसेसम्म तिनलाई हेरिरहन्थे। 9मोशा भित्र पसेपछि बादलको खम्बा उभिएर पवित्र पालको ढोकामा खडा रहन्थ्यो र बादलको बीचबाट परमप्रभुले मोशासित कुरा गर्नुहुन्थ्यो। 10मानिसहरूले बादलका खम्बालाई पालको ढोकामा देख्नेबित्तिकै शिर निहुराएर ढोग्थे। 11जसरी मानिसले आफ्नो साथीसित कुरा गर्छ, त्यसरी परमप्रभु मोशासित मुखामुख कुरा गर्नुहुन्थ्यो। त्यसपछि मोशा पालमा फर्कन्थे। तर तिनलाई मद्दत गर्ने युवा नुनको छोरो यहोशूचाहिँ त्यहीँ पवित्र पालमा बस्थे।
परमप्रभुले आफ्ना प्रजासित रहने प्रतिज्ञा गर्नुहुन्छ
12मोशाले परमप्रभुलाई भने, “तपाईंले यी मानिसहरूलाई त्यस देशमा डोर्याई लैजान मलाई भन्नुभएको साँचो हो, तर मसँग क-कसलाई पठाउनुहुनेछ त्यो त भन्नुभएन। तपाईंले भन्नुभयो कि तपाईंले मलाई चिन्नुहुन्छ र मसँग प्रसन्न हुनुहुन्छ। 13त्यसो हो भने मलाई आफ्नो इच्छा भन्नुहोस् र म तपाईंको सेवा गरेर तपाईंलाई प्रसन्न तुल्याइरहूँ। तपाईंले यस जातिलाई आफ्नै प्रजा सम्झनुहोस्।”
14परमप्रभुले भन्नुभयो, “म तँसित जानेछु र तँलाई विजय दिनेछु।”
15मोशाले उत्तर दिए, “तपाईं हामीसित जानुहुन्न भने हामीलाई यस ठाउँ छोड्न नलाउनुहोस्। 16तपाईं हामीसित जानुहुन्न भने कसरी तपाईं आफ्ना प्रजा र मसित प्रसन्न हुनुहुन्छ भन्ने कुरा मानिसहरूले थाहा पाउनेछन्?
17परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले भनेझैँ म गर्नेछु किनभने म तँलाई राम्ररी चिन्छु र तँसित प्रसन्न छु।”
18मोशाले बिन्ती गरे, “कृपा गरी मलाई तपाईंको उपस्थितिको चम्किलो ज्योति देखाउनुहोस्।”
19 #
रोमी 9:15
परमप्रभुले उत्तर दिनुभयो, “म मेरो सारा गौरव तेरो सामुबाट पार गराउनेछु र तेरो अघि आफ्नो पवित्र नाम उच्चारण गर्नेछु। म परमप्रभु हुँ र मैले चुनेकाहरूलाई म आफ्नो करुणा र दया देखाउँछु। 20म तँलाई मेरो अनुहार हेर्न दिनेछैनँ किनभने कोही पनि मेरो मुहार हेरेपछि जिउँदो रहन सक्दैन। 21तर यहाँ मेरो छेउमा एउटा स्थान छ, यही स्थानको चट्टानमाथि तँ खडा हो। 22मेरो उपस्थितिको चम्किलो ज्योति जब पार हुनेछ, तब म तँलाई चट्टानको एउटा धाँदोमा राख्नेछु र म पार नभएसम्म मेरो बाहुलीले तँलाई छोपिराख्नेछु। 23तब म मेरो बाहुली हटाउनेछु र तैँले मेरो पिठ्युँ देख्नेछस्, मुहारचाहिँ देख्नेछैनस्।”
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
प्रस्थान 33: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako
Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.