प्रस्‍थान 30

30
धूप बाल्‍नुपर्ने वेदी
1“धूप बाल्‍नको निम्‍ति बबुल काठको एउटा वेदी बना। 2त्‍यो बराबर लम्‍बाइ र चौडाइ भएको ४५ सेन्‍टिमिटर लामो, ४५ सेन्‍टिमिटर चौडा र ९० सेन्‍टिमिटर उचाइको हुनेछ। त्‍यसका चार कुनाका सिङजस्‍ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्‍तो गरी बनाउनू। 3त्‍यसको माथिल्‍लो भाग चारैपट्टि र ती चोसाहरू निखुर सुनले मोहोर्नू। त्‍यसका चारैपट्टि सुनको घेरा लाउनू। 4त्‍यो बोक्‍न दुईवटा सुनका मुन्‍द्राहरू बनाएर घेरामुनि दुईपट्टि लगाउनू। त्‍यसलाई बोक्‍ने डन्‍डाहरू ती मुन्‍द्रामा छिराएर अड्याउनुपर्नेछ। 5ती डन्‍डाहरू पनि बबुल काठको बनाएर सुनले मोहोर्नू। 6यो वेदी करारको सन्‍दुकको अघिपट्टि झुन्‍ड्याइएका पर्दाका बाहिरपट्टि राख्‍नू। त्‍यस स्‍थानमा म तँलाई भेट्‍नेछु। 7प्रत्‍येक बिहान हारूनले पानस तयार गर्न आउँदा त्‍यसले सुगन्‍ध भएको धूप वेदीमाथि बालोस्। 8बेलुका दियो बाल्‍दा पनि त्‍यसले त्‍यसै गरोस्। यसरी धूप दिनहुँ बालिराख्‍ने गर्नू। 9यस वेदीमा कुनै मनाही गरेका धूप, पशुबलि वा अन्‍नबलि नचढाउनू। त्‍यसमा कुनै दाखमद्य बलि नचढाउनू। 10वर्षमा एकचोटि हारूनले पाप काट्‍न बलि गरेको पशुको रगत त्‍यसका चार सिङजस्‍ता चोसाहरूमा लगाएर वेदीलाई चोखो गर्ने विधि गरोस्। भविष्‍यमा सदाको निम्‍ति हरसाल यसो गरिनुपर्नेछ। यो वेदी सम्‍पूर्ण पवित्र र म परमप्रभुलाई समर्पण गरिएको हुनुपर्नेछ।”
पवित्र पालको लागि कर
11परमप्रभुले मोशालाई भन्‍नुभयो, 12“जब तैँले इस्राएलीहरूको गन्‍ती लिनेछस्, हरेक मानिसले आफ्‍नो प्राणको निम्‍ति मोल तिर्नुपर्नेछ र त्‍यसलाई गन्‍ती लिएको बेलामा केही आपत्-विपत पर्नेछैन। 13#प्रस्‍थान 38:25,26; मत्ती 17:24गन्‍ती भएको हरेकले तोकिएको मोल तिर्नुपर्नेछ। त्‍यो मोल हरेकले मलाई चढाएको एउटा भेटीको रूपमा तिर्नुपर्नेछ। 14गन्‍तीमा परेको प्रत्‍येक मानिसले अथवा २० वर्ष पुगेका वा त्‍योभन्दा बढी उमेर भएकाहरूले त्‍यो मोल मलाई तिर्नुपर्नेछ। 15आफ्‍नो प्राणको मोल तिर्दा धनीले धेरै वा गरीबले थोरै नदेओस्। 16इस्राएलका मानिसहरूबाट त्‍यो कर उठाएर मेरो बास गर्ने पवित्र पालको रेखदेख गरेको खर्च भर्ने गर्नू। त्‍यो कर तिनीहरूका प्राणको मोल तिरेको हो र म तिनीहरूको रक्षा गर्ने काम याद राख्‍नेछु।”
काँसाको पानी हाल्‍ने बाटा
17परमप्रभुले मोशालाई भन्‍नुभयो, 18#प्रस्‍थान 38:8“काँसाको आसन भएको एउटा काँसाको पानी हाल्‍ने बाटा बना, त्‍यसलाई पाल र वेदीको बीचमा राख् र त्‍यसमा पानी हाल्। 19हारून र त्‍यसका छोराहरूले आफ्‍ना हात-गोडा धुँदा त्‍यो पानी चलाउनुपर्छ। 20तिनीहरू पालभित्र पस्‍नुअघि अथवा वेदीको छेउमा बलि चढाउन जानुअघि तिनीहरूले आफ्‍ना हात-गोडा धुनुपर्नेछ। त्‍यसो भए तिनीहरू मर्नेछैनन्। 21तिनीहरूले आफ्‍ना हात-गोडा धुनुपर्छ र तिनीहरू मर्नेछैनन्। यो एउटा विधि हो, जसलाई तिनीहरूले र तिनीहरूका सन्‍तानले सदासर्वदा मान्‍नुपर्नेछ।”
अभिषेक गरिने तेल
22 # प्रस्‍थान 37:29 परमप्रभुले मोशालाई भन्‍नुभयो, 23“सबैभन्दा असल मसलाहरू ली। छ किलो तरल मूर्र, तीन-तीन किलो सुगन्‍ध भएको दालचिनी, बेत 24र छ किलो तेजपात, सबै तोकिएको तौलअनुसार तौलेर लिनू। त्‍यसमा चार लिटर जैतुनको तेल थप्‍नू र 25सुगन्‍धित तेलजस्‍तो मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू। 26त्‍यसले म बास गर्ने पवित्र पाल, करारको सन्‍दुकमा अभिषेक गर्नलाई प्रयोग गर्नू, 27टेबिल र त्‍यसका सारा सर-सामान, सामदान र त्यसका सारा सर-सामान, धूप बाल्‍ने वेदी, 28चढाइएका भेटीहरू डढाउने वेदी र त्‍यसका सारा सर-सामान र आसनसहित पानी हाल्‍ने भाँडो अभिषेक गर्नू। 29त्‍यसरी ती सबै थोक अर्पण गर्नू र तिनीहरू सम्‍पूर्णरूपले पवित्र हुनेछन् र तिनलाई कुनै मानिस वा थोकले छोयो भने तिनको पवित्रताको शक्तिले त्‍यसलाई हानि गर्नेछ। 30तब हारून र त्‍यसका छोराहरूलाई अभिषेक गर्‌ र मेरो सेवा गर्न तिनीहरूलाई मेरा पूजाहारी नियुक्त गर्‌। 31इस्राएलीहरूलाई यसो भन्, यो पवित्र अभिषेक गर्ने तेल भविष्‍यमा सधैँ मेरो सेवाको निम्‍ति चलाइनुपर्नेछ। 32यो साधारण मानिसमाथि नखन्‍याउनू र अरू कुनै कामको तेल यस तरिकाले नबनाउनू। यो पवित्र छ अनि तिमीहरूले यसलाई पवित्र राख्‍नू। 33जसले त्‍योजस्‍तो अत्तर अरू केही कुरा बनाउला वा पूजाहारीबाहेक अरू कुनै मानिसमाथि यो खन्‍याउला, त्‍यो मेरो प्रजामा गनिनेछैन।”
धूप
34परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी सुगन्‍धित मसलाहरू बराबर मात्रामा लिनू: खोटो, सेखलेट, हिँङजस्‍तै चोप र शुद्ध सुगन्‍धित धूप। 35तिनीहरूलाई सुगन्‍धित तेलजस्‍तो गरी मिसाएर धूप बनाउनू। त्‍यसलाई चोखो र पवित्र राख्‍न नुन थप्‍नू। 36त्‍यसको एक हिस्‍सा मिहिन धुलो बनाएर पिस्‍नू र त्‍यसलाई म बास गर्ने पवित्र पालमा लगेर करारको सन्‍दुकको अघि छर्कनू। यस धूपलाई सम्‍पूर्णरूपले पवित्र राख्‍नू। 37त्‍यो बनाउने नियमअनुसार अरू कुनै धूप तिमीहरूले आफ्‍नो निम्‍ति नबनाउनू। मलाई अर्पण गरेको एउटा पवित्र थोकझैँ त्‍यसलाई मान्‍नू। 38कसैले त्‍यही प्रकारले सुगन्‍धित तेलजस्‍तो व्‍यवहार गर्न अरू कुनै कुरा बनायो भने त्‍यो मेरो मानिसमा गन्‍ती हुनेछैन।”

Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:

प्रस्‍थान 30: सरल नेपाली

Ìsàmì-sí

Pín

Daako

None

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀