प्रेरित 11

11
पत्रुसले आफ्ना कामहरूको वर्णन गरेका
1गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने। 2त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे, 3र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।”
4तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने: 5“म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्‍नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो। 6जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। 7त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’
8“तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’
9“स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’ 10अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।
11“ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे। 12मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ। 13तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। 14तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’
15“जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो। 16त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’ 17त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”
18यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”
एन्टिओखियाको मण्डली
19स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे। 20तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले। 21प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्‍वास गरे, र प्रभुकहाँ फर्के।
22यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। 23जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए। 24किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।
25त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए। 26शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्‍टियान भनिए।
27यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे। 28तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।) 29चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे। 30यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।

موجودہ انتخاب:

प्रेरित 11: NCV

سرخی

شئیر

موازنہ

کاپی

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in