1 कोरिन्थी 9
9
पावलको प्रेरितीय अधिकार
1के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र? 2म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।
3जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो: 4के हामीलाई खाने र पिउने अधिकार छैन र? 5के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र? 6अथवा के बारनाबास र मलाई मात्र जीविका चलाउनका निम्ति काम गर्नुपर्ने हो?
7आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र? 8के मैले यो साधारण मानव दृष्टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? 9किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।”#9:9 व्यव 25:4 के गोरुहरूका बारेमा मात्र परमेश्वरले वास्ता राख्नुहुन्छ? 10के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ। 11यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र? 12यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र?
तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौँ। बरु ख्रीष्टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौँ।
13के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। 14यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ।
15तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ। 16किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने! 17यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। 18त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्।
पावलले आफ्नो स्वतन्त्रता प्रयोग गरेका
19म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु। 20यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ। 21व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्। 22कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ। 23म यी सबै कुरा सुसमाचारकै खातिर गर्दछु, ताकि म यस सुसमाचारको आशिष्मा सहभागी बनूँ।
आत्म-अनुशासनको आवश्यकता
24दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। 25हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। 26यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। 27तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
ప్రస్తుతం ఎంపిక చేయబడింది:
1 कोरिन्थी 9: NCV
హైలైట్
కాపీ
సరిపోల్చండి
షేర్ చేయి
మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.