रोमी 11
11
इस्राएलका बाँकी रहेकाहरू
1त्यसो हो भने म सोध्छु: के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल। 2परमेश्वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्वरसँग बिन्ती गरेका थिए: 3“प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”#11:3 1 राजा 19:10, 14 4अनि उनलाई परमेश्वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”#11:4 1 राजा 19:18 5यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्। 6यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
7तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्त गर्न सके, तर अरू सबै कठोर पारिए। 8यसरी लेखिएको छ:
“परमेश्वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो,
आँखाहरू, जसले देख्न सकेनन्
अनि कानहरू, जसले सुन्न सकेनन्,
आजसम्मै तिनीहरू यस्तै छन्।”#11:8 व्यव 29:4; यशै 29:10
9अनि दावीदले भन्दछन्:
“तिनीहरूका भोजन पासो र फन्दा बनोस्।
अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्।
10तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्।
तिनीहरूका ढाड सदा कुप्रिरहून्!”#11:10 भजन 69:22, 23
कलमी बाँधिएका हाँगाहरू
11म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ। 12तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला!
13म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु; 14यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ। 15किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र? 16यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
17यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने, 18आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ। 19त्यसपछि तिमीले भन्नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।” 20ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्वासको कारणले काटिएका हुन्। अनि तिमी विश्वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान। 21किनकि यदि परमेश्वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।
22यसकारण परमेश्वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ। 23अनि यदि उनीहरू पनि आफ्नो अविश्वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। 24यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्!
सबै इस्राएलीको उद्धार
25दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्ने म चाहन्नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्टमा नआउन्जेलसम्म मात्र हुनेछ। 26यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ:
“उद्धारकर्ता सियोनबाट आउनुहुनेछ;
उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ,
27अनि उनीहरूसँग यो मेरो करार हुनेछ,
जब म उनीहरूका पाप मेटाइदिनेछु।”#11:27 यशै 59:20, 21; 27:9; यर्मिया 31:33, 34
28सुसमाचारको दृष्टिमा तिनीहरू तिम्रा लागि परमेश्वरका दुश्मन हुन्; तर परमेश्वरको चुनावको दृष्टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्। 29किनकि परमेश्वरको वरदान र बोलावट अटल छ। 30जसरी तिमीहरू एक पल्ट परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, 31यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। 32किनकि परमेश्वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।
स्तुतिगान
33आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति!
उहाँका न्यायहरू कति अथाह,
र उहाँका पथहरू कति अगम छन्!
34“प्रभुको मनलाई कसले जानेको छ र?
अथवा उहाँको सल्लाहकार को भएको छ र?”#11:34 यशै 40:13
35“परमेश्वरलाई कसले केही दिएको छ,
र परमेश्वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”#11:35 इयोब 41:11
36किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्।
उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
Atualmente Selecionado:
रोमी 11: NCV
Destaque
Copiar
Comparar
Compartilhar
Quer salvar seus destaques em todos os seus dispositivos? Cadastre-se ou faça o login
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.