1 कोरिन्थी 5
5
मण्डली अनुशासन
1वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ। 2अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र? 3म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु। 4जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ। 5त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्।
6तिमीहरूको घमण्ड राम्रो होइन। अलिकति खमिरले सबै पिठोको ढिकालाई खमिर बनाइदिन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? 7पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ। 8यसकारण हामी कुकर्म र दुष्टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ।
9मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ; 10तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको चाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ। 11तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू।
12मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन? 13परमेश्वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।”#5:13 व्यव 13:5; 17:7; 19:19; 21:21; 22:21, 24; 24:7
Atualmente Selecionado:
1 कोरिन्थी 5: NCV
Destaque
Copiar
Comparar
Compartilhar
Quer salvar seus destaques em todos os seus dispositivos? Cadastre-se ou faça o login
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.