रोमी 7:13-20
रोमी 7:13-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त के जो असल छ, त्यसले मेरो निम्ति मृत्यु ल्यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्पूर्ण रूपले पापमय बनोस्। किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु। म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ। किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु। अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।
रोमी 7:13-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्न गर्यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्न सकोस्। हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु। म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु। अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ। किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु। अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।
रोमी 7:13-20 पवित्र बाइबल (NERV)
ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो। हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
रोमी 7:13-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा के यस्तो असल व्यवस्थाले मलाई नै मार्यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्नो साँचो रूप देखाउन मलाई मार्यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्दो दुष्ट भयो। व्यवस्था परमेश्वरको आत्माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्वभावअनुसार चल्ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्छ तर मैले चाहेको काम मबाट हुँदैन। यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्वभाव हो किनभने असल काम गर्ने इच्छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्तिनँ। मैले इच्छा गरेको असल काम म गर्दिनँ; तर उल्टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्छु। मैले इच्छा नगर्दा-नगर्दै पनि म त्यो काम गर्छु भने त्यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो।