भजनसंग्रह 97:7-12
भजनसंग्रह 97:7-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्तिपूजा गर्नेहरू सबै लाजमा पारिनेछन्, मूर्तिहरूमा गर्व गर्नेहरू सबै शर्ममा पर्नेछन्। सबै देवगण हो, उहाँको आराधना गर। तपाईंका न्यायको कारण हे परमप्रभु, सियोनले सुन्छ र आनन्दित हुन्छ, र यहूदाका गाउँहरू हर्षित हुन्छन्। किनकि हे परमप्रभु, सारा पृथ्वीभन्दा तपाईं नै अति उच्च हुनुहुन्छ, तपाईं सबै देवहरूमाथि अत्यन्त उच्च हुनुहुन्छ। परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्। किनकि उहाँले आफ्ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्छ, र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्छ। धर्मीहरूमाथि ज्योति प्रकाशमान हुन्छ, अनि हृदयमा सोझा भएकाहरूका निम्ति आनन्द। हे धर्मी हो, परमप्रभुमा आनन्द मनाओ, र उहाँको पवित्र नाउँको प्रशंसा गर।
भजनसंग्रह 97:7-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर! तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्। किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्च परमेश्वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्च हुनुहुन्छ। याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ। धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ। हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!
भजनसंग्रह 97:7-12 पवित्र बाइबल (NERV)
मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्। तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्। तर ती मानिसहरू लज्जित हुनेछन्। तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्। हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो। सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ। तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ। मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ। धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ। धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ। उहाँको पवित्र नाउँको आदर गर।
भजनसंग्रह 97:7-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्ति पुज्ने हरेक व्यक्ति लाजमापर्नेछ, परमप्रभुको अघि सबै देवताहरूले दण्डवत् गर्दछन्। हे परमप्रभु, तपाईंको निसाफले गर्दा सियोनका बासिन्दाहरू हर्षित छन् र यहूदाका सहरहरूले रमाहट गर्दछन्। हे सर्वशक्तिमान् परमप्रभु, तपाईं सारा पृथ्वीका शासक हुनुहुन्छ, तपाईं सबै देवी-देवताहरूभन्दा अति महान् हुनुहुन्छ। खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, उहाँले आफ्ना प्रजाका जीवनको रक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टहरूको शक्तिदेखि बचाउनुहुन्छ। धर्मीहरूमाथि ज्योति र असल मानिसहरूमाथि आनन्द चम्कन्छन्। परमप्रभुले जे काम गर्नुभएको छ, त्यसका कारणले तिमीहरू जो धर्मी छौ, आनन्द गर। पवित्र परमेश्वरले जे गर्नुभएको छ, याद गर र उहाँलाई धन्यवाद चढाओ।