भजनसंग्रह 64:1-7

भजनसंग्रह 64:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले उजूर गर्दा मेरो पुकारा सुन्‍नुहोस्‌, हे परमेश्‍वर, शत्रुको डरबाट मेरो ज्‍यानलाई जोगाइदिनुहोस्‌। दुष्‍टहरूको गुप्‍त योजनाबाट र कुकर्मीहरूका समूहको षड्‌यन्‍त्रबाट मलाई लुकाउनुहोस्‌। तिनीहरू आफ्‍ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्‌, र तिनीहरूका वचन घातक काँड़झैँ ताक्‍छन्‌। निर्दोषलाई तिनीहरू ढुकेर हान्‍छन्‌, डरैविना अचानक त्‍यसलाई हान्‍छन्‌। तिनीहरू आफ्‍ना दुष्‍ट षड्‌यन्‍त्रमा एक-अर्कालाई प्रोत्‍साहन दिन्‍छन्‌, पासो गुप्‍तमा थाप्‍ने मतो तिनीहरू गर्छन्‌। तिनीहरू भन्‍छन्‌, “कसले हामीलाई देख्‍छ र?” तिनीहरू अन्‍यायको षड्‌यन्‍त्र रच्‍तछन्‌ र भन्‍छन्‌, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्‍चै, मानिसका मन र हृदय धूर्त हुन्‍छन्‌। तर परमेश्‍वरले काँड़हरूले तिनीहरूमाथि हान्‍नुहुनेछ, तिनीहरू अचानक घायल हुनेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्

भजनसंग्रह 64:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरा परमेश्‍वर, मैले गुनासो गर्दा मेरो सोर सुन्‍नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्! दुष्‍टहरूको गुप्‍त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्! तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्, र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्। तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्। तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?” तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्‍चै धूर्त छ। तर परमेश्‍वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्‍नुहुनेछ; तिनीहरू अचानक घाइते हुनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्

भजनसंग्रह 64:1-7 पवित्र बाइबल (NERV)

हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्। मेरो शत्रुले मलाई धमास दिएको छ। त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्! मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्। तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्। तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्। एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्। तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्। तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!” तिनीहरूले पासोहरू लुकाएका छन्। तिनीहरूले शिकार खोजीरहेका हुन्छन्। मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ। तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ! अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्

भजनसंग्रह 64:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म कष्‍टमा छु, हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्! मलाई मेरा शत्रुहरूको डर छ; मेरो प्राण बचाउनुहोस्! मलाई दुष्‍टहरूका जाल-झेल, कुकर्मीहरूका हुलदङ्गादेखि जोगाउनुहोस्। तिनीहरूले आफ्‍नो जिब्रो तरवारजस्‍तो धारिलो बनाउँछन् र काँड हानेजस्‍तै निष्‍ठुर वचन बोल्‍दछन्। तिनीहरू लाजबिना आफ्‍ना झूटा कुरा फैलाउन हतार गर्छन्, भयग्रस्‍त झूटा दोष लगाएर तिनीहरूले असल मानिसहरूलाई नाश गर्छन्। तिनीहरूले दुष्‍ट जाल रच्‍नमा एक-अर्कालाई आपसमा उत्‍साह दिन्‍छन्, आफ्‍नो पासो कहाँ थाप्‍ने भनी तिनीहरूले युक्ति गर्छन्। “ती पासोहरू कसैले देख्‍दैन,” तिनीहरूले भन्‍छन्। दुष्‍ट युक्तिहरू बनाएर तिनीहरूले भन्‍छन्, “अरूले चालै नपाउने अपराधको उपाय हामीले गरेका छौं।” मानिसका मन र हृदय रहस्‍यले भरिएका छन्। तर परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना वाणले हान्‍नुहुनेछ र अचानक तिनीहरू घाइते हुनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्