भजनसंग्रह 59:1-17
भजनसंग्रह 59:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्, हे मेरा परमेश्वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्। कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्, र रक्त-प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्। हेर्नुहोस्, तिनीहरू कसरी मेरो प्राण लिनलाई ढुकेर बसेका छन्। हे परमप्रभु, मेरो कसूरैविना अथवा पापैविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र गर्दछन्। मेरो कसूरैविना तिनीहरू मलाई आक्रमण गर्न तयार छन्। मलाई सहायता गर्न उठ्नुहोस्, मेरो दशामाथि दृष्टि गर्नुहोस्। हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर, सबै जातिहरूलाई दण्ड दिन जाग्नुहोस्, दुष्ट विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला साँझैपिच्छे तिनीहरू कुकुरहरूझैँ ङ्वार्र-ङ्वार्र गर्दै, सहरको चारैतिर घुम्छन्। हेर्नुहोस्, तिनीहरू मुखबाट के निकाल्छन्, तिनीहरू ओठबाट तरवार निकाल्छन्, अनि तिनीहरू भन्छन्, “सुन्ने को छ?” तर तपाईं, हे परमप्रभु, तिनीहरूमाथि हाँस्नुहुन्छ। सबै जातिहरूको तपाईं उपहास गर्नुहुन्छ। हे मेरा शक्ति, म तपाईंलाई हेर्छु, हे परमेश्वर, तपाईं मेरो किल्ला, मेरा प्रेमी परमेश्वर हुनुहुन्छ। परमेश्वर मेरो अगि जानुहुन्छ, र मलाई निन्दा गर्नेहरूमाथि विजयमा हेर्न दिनुहुन्छ। तर हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा प्रजाले बिर्सनेछन्। तपाईंको आफ्नो सामर्थ्यले तिनीहरूलाई छिन्नभिन्न पारेर तिनीहरूलाई होच्याउनुहोस्। तिनीहरूका मुखका पाप र ओठका शब्दहरूको कारण तिनीहरू आफ्नो अहङ्कारमा फसून्। तिनीहरूले सरापेका र झूट बोलेका कारण, तिनीहरूलाई क्रोधले भस्म पार्नुहोस्, तिनीहरू निमिट्यान्न नभएसम्म नाश गर्नुहोस्। तब पृथ्वीको अन्त्यसम्मै मानिसहरूले जान्नेछन्, कि परमेश्वरले याकूबमाथि राज्य गर्नुहुन्छ। सेला हरेक साँझ तिनीहरू कुकुरहरूझैँ ङ्वार्र-ङ्वार्र गर्दै, सहरको चारैतिर घुम्छन्। आहारको खोजीमा तिनीहरू डुलिहिँड्छन्, अनि तृप्त नहुँदा तिनीहरू कराउँछन्। तर मचाहिँ तपाईंका शक्तिको स्तुति गाउनेछु, बिहानै तपाईंका प्रेमको प्रशंसा गाउनेछु, किनकि तपाईं मेरो किल्ला, र मेरो दु:खको दिनमा शरणस्थान हुनुहुन्छ। हे मेरा शक्ति, म तपाईंको स्तुति गाउनेछु, हे परमेश्वर, तपाईं मेरो किल्ला, मेरा प्रेमी परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 59:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्। दुष्ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्। हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्! हे याहवेह, मेरो दोष वा पाप नभए तापनि कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्। मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्। मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्टि गर्नुहोस्। हे याहवेह, सेनाहरूका परमेश्वर, हे इस्राएलका परमेश्वर, सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्; विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै, सहरको चारैतिर आउँछन्। हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्— तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्; अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्न सक्छ र?” तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ; तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ। तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ। मेरो परमेश्वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ, र परमेश्वर मेरो अगाडि जानुहुनेछ। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ। तर हे प्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा मानिसहरूले भुल्नेछन्। तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस् र तिनीहरूलाई होच्याउनुहोस्। तिनीहरूका मुखको पापको फल, तिनीहरूका ओठका शब्दहरूका कारण, तिनीहरू आफ्नै घमण्डमा फसून्। तिनीहरूले बोलेका श्राप र झूटका कारण, तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्, तिनीहरू पूरै नष्ट नहोउन्जेल भस्म गर्नुहोस्। तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्नेछन्, कि परमेश्वरले इस्राएलमाथि र संसारभरि राज्य गर्नुहुन्छ। तिनीहरू साँझपख कुकुरहरूजस्तै घुर्दै सहरको चारैतिर आउँछन्। तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्, अनि तिनीहरू आहाराले सन्तुष्ट नहुँदा कराउँछन्। तर म तपाईंको शक्तिको गुणगान गाउनेछु, बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु; किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ, सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ। तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु; हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
भजनसंग्रह 59:1-17 पवित्र बाइबल (NERV)
हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउँनु होस्। मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्। मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउँनु होस्। मलाई ती हत्याराहरूबाट बचाउँनु होस्। हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन। मैले कुनै गल्ती काम गरिनँ, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्। हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्। तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ! उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्। ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्। ती पापीहरू कुकुर जस्ता साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्, अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्। तिनीहरूका निन्दा र धम्की सुन्नु होस्। तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्, तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्। हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्। ती सबैलाई एक तमाशा बनाई दिनुहोस्। म तपाईंको स्तुति-गान गर्नेछु। हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ। परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ। हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्। ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्। तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्, तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्। तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्। तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्। तब संसार भरिका मानिसहरूले बुझ्ने छन् परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ! ती धूर्त पुरूषहरू कुकुरहरू जस्तै छन्, ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्। तिनीहरूले खाने-कुरा खोज्छन् तर तिनीहरूले न त खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्। तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु। म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
भजनसंग्रह 59:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मेरो परमेश्वर! शत्रुहरूबाट मलाई बचाउनुहोस्, ममाथि हमला गर्नेहरूबाट मेरो रक्षा गर्नुहोस्! ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस् र ती हत्याराहरूदेखि मेरो रक्षा गर्नुहोस्। हेर्नुहोस्! तिनीहरू मलाई मार्नलाई पर्खिरहेका छन्, निष्ठुर मानिसहरू मेरो विरुद्धमा भेला भइरहेका छन्। परमप्रभु! तिनीहरू आ-आफ्ना ठाउँमा हतारिएर गएका छन्, तर मैले गरेका कुनै अपराध वा पाप वा ममा भएको कुनै दोषको कारणले होइन। हे परमप्रभु, सर्वशक्तिमान् परमेश्वर! उठ्नुहोस् र मेरो सहायता गर्न आउनुहोस्। हे इस्राएलका परमेश्वर! आफैं हेर्नुहोस्, उठ्नुहोस् र अविश्वासीहरूलाई दण्ड दिनुहोस्, दुष्ट देशद्रोहीहरूलाई दयामाया नदेखाउनुहोस्। तिनीहरू बेलुका फर्केर आउँछन् र कुकुरजस्तै ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैपट्टि घुम्छन्। तिनीहरूले दिएका धम्की र अपमान सुन्नुहोस्, तिनीहरूका जिब्रा तरवारजस्ता छन्, तापनि तिनीहरू सोच्छन् कि कसैले हामीलाई सुन्दैन। परमप्रभु! तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ, तपाईंले सबै अविश्वासीहरूको हाँसो उडाउनुहुन्छ। म तपाईंको सामर्थ्यमा भरोसा गर्दछु, तपाईं मेरो शरणस्थान हुनुहुन्छ, हे परमेश्वर! मेरा परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ र मकहाँ आउनुहुनेछ, उहाँले मलाई आफ्ना शत्रुहरू हारेका देख्न दिनुहुनेछ। हे परमेश्वर! तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा प्रजाले तिनीहरूलाई भुल्लान्, आफ्नो शक्तिले तिनीहरूलाई जितेर छरपष्ट पार्नुहोस्, हे प्रभु! हाम्रा रक्षक! तिनीहरूका ओठमा पाप छन्, तिनीहरूको बोली पापले भरिएको छ, आफ्नो घमण्डको पासोमा तिनीहरू परून्! किनभने तिनीहरूले सराप्दछन् र ढाँट्दछन्। आफ्नो क्रोधमा तिनीहरूलाई नाश गर्नुहोस्, तिनीहरूलाई पूरा नाश गर्नुहोस्, तब सबैले जान्नेछन् कि परमेश्वरले इस्राएलमाथि राज्य गर्नुहुन्छ र उहाँको राज्य सारा संसारमा फैलन्छ। मेरा शत्रुहरू साँझमा फर्केर आउँछन् तिनीहरू कुकुरजस्ता ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैतिर घुम्छन्। तिनीहरू खानेकुरा खोजी हिँड्ने र पूरा खाना नपाउँदा ङार्र-ङार्रङुर्र गर्ने कुकुरहरूजस्ता छन्। तर म तपाईंको शक्तिबारे गाउनेछु, तपाईंको अटुट प्रेमबारे म प्रत्येक बिहान जोडसँग गाउनेछु, तपाईं मेरा शरणस्थान र सङ्कष्टको समयमा आश्रय हुनुभएको छ। मेरा रक्षक, म तपाईंको प्रशंसा गर्नेछु, परमेश्वर मेरा शरणस्थान हुनुहुन्छ, मलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ।