भजनसंग्रह 59:1-17

भजनसंग्रह 59:1-17 NNRV

मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्‌, हे मेरा परमेश्‍वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्‌। कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्‌, र रक्त-प्‍यासी मानिसहरूबाट मलाई बचाउनुहोस्‌। हेर्नुहोस्‌, तिनीहरू कसरी मेरो प्राण लिनलाई ढुकेर बसेका छन्‌। हे परमप्रभु, मेरो कसूरैविना अथवा पापैविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्‌यन्‍त्र गर्दछन्‌। मेरो कसूरैविना तिनीहरू मलाई आक्रमण गर्न तयार छन्‌। मलाई सहायता गर्न उठ्‌नुहोस्‌, मेरो दशामाथि दृष्‍टि गर्नुहोस्‌। हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वर, सबै जातिहरूलाई दण्‍ड दिन जाग्‍नुहोस्‌, दुष्‍ट विश्‍वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्‌। सेला साँझैपिच्‍छे तिनीहरू कुकुरहरूझैँ ङ्‌वार्र-ङ्‌वार्र गर्दै, सहरको चारैतिर घुम्‍छन्‌। हेर्नुहोस्‌, तिनीहरू मुखबाट के निकाल्‍छन्‌, तिनीहरू ओठबाट तरवार निकाल्‍छन्‌, अनि तिनीहरू भन्‍छन्‌, “सुन्‍ने को छ?” तर तपाईं, हे परमप्रभु, तिनीहरूमाथि हाँस्‍नुहुन्‍छ। सबै जातिहरूको तपाईं उपहास गर्नुहुन्‍छ। हे मेरा शक्ति, म तपाईंलाई हेर्छु, हे परमेश्‍वर, तपाईं मेरो किल्‍ला, मेरा प्रेमी परमेश्‍वर हुनुहुन्‍छ। परमेश्‍वर मेरो अगि जानुहुन्‍छ, र मलाई निन्‍दा गर्नेहरूमाथि विजयमा हेर्न दिनुहुन्‍छ। तर हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई नमार्नुहोस्‌, नत्रता मेरा प्रजाले बिर्सनेछन्‌। तपाईंको आफ्‍नो सामर्थ्‍यले तिनीहरूलाई छिन्‍नभिन्‍न पारेर तिनीहरूलाई होच्‍याउनुहोस्‌। तिनीहरूका मुखका पाप र ओठका शब्‍दहरूको कारण तिनीहरू आफ्‍नो अहङ्कारमा फसून्‌। तिनीहरूले सरापेका र झूट बोलेका कारण, तिनीहरूलाई क्रोधले भस्‍म पार्नुहोस्‌, तिनीहरू निमिट्यान्‍न नभएसम्‍म नाश गर्नुहोस्‌। तब पृथ्‍वीको अन्‍त्‍यसम्‍मै मानिसहरूले जान्‍नेछन्‌, कि परमेश्‍वरले याकूबमाथि राज्‍य गर्नुहुन्‍छ। सेला हरेक साँझ तिनीहरू कुकुरहरूझैँ ङ्‌वार्र-ङ्‌वार्र गर्दै, सहरको चारैतिर घुम्‍छन्‌। आहारको खोजीमा तिनीहरू डुलिहिँड्‌छन्‌, अनि तृप्‍त नहुँदा तिनीहरू कराउँछन्‌। तर मचाहिँ तपाईंका शक्तिको स्‍तुति गाउनेछु, बिहानै तपाईंका प्रेमको प्रशंसा गाउनेछु, किनकि तपाईं मेरो किल्‍ला, र मेरो दु:खको दिनमा शरणस्‍थान हुनुहुन्‍छ। हे मेरा शक्ति, म तपाईंको स्‍तुति गाउनेछु, हे परमेश्‍वर, तपाईं मेरो किल्‍ला, मेरा प्रेमी परमेश्‍वर हुनुहुन्‍छ।